प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले काठमाडौँका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रधानले गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए। संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठी विधेयक ल्याएको भन्दै उनले सो विधेयक फिर्ता गर्नुको विकल्प नभएको बताए।
राजधानीमा गुठीसम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भईरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए। ‘काठमाडौमा आन्दोलनको हुरी चल्दैछ। बादल गर्जिदै छ दिनका दिन आन्दोलनको’, उनले भने, ‘विधेयक तुरुन्तै फिर्ता गरि सरोकारवालाहरुसँग विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कसलाई कहाँ पुर्याउछ भनेर भन्न सकिन्न।’
काठमाडौँ उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको गभ्भीर ध्यानाकर्षण गराए। ‘काठमाडौँका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन’, उनले भने, ‘हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन। संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो।’ उनले काठमाडाैँका जनता उठेपछि मात्रै राजतन्त्र फालिउको दावी गरे।
गुठी सम्बन्धी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्वीक महत्व, धर्म , संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप उनले लगाए।
सभामुख कृष्णबहादुर महराले बिहीबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उनले भीमसेनदास प्रधानलाई बोल्नका लागि समय दिएका थिए।
प्रतिक्रिया