ad ad

राजनीति


नेपालले आग्रह गरे पनि यहाँ सैन्य अखडा बनाउँदैनौँ : अमेरिकी राजदूत बेरी

नेपालले आग्रह गरे पनि यहाँ सैन्य अखडा बनाउँदैनौँ : अमेरिकी राजदूत बेरी

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १६:३,

अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालले आग्रह गरेपनि अमेरिकाले यहाँ सैन्य अखडा नबनाउने बताएका छन्।

नेपाली सेनामा नयाँ भर्ती भएका अधिकृतहरुलाई स्टाफ कलेजमा बिहीबार सम्बोधन गर्दै राजदूत बेरीले सो धारणा व्यक्त गरेका हुन्।

उनले शीतयुद्ध उत्कर्षमा रहेको बेला समेत नेपालमा सैन्य अखडा बनाउन नचाहेको अमेरिकाले अब नेपालले नै आग्रह गरेपनि त्यस्तो अखडा खडा नगर्ने बताएका हुन्।

‘यदि नेपालले अमेरिकालाई नेपालमा सैनिक अखडा स्थापना गर्न आग्रह गर्‍यो भने हाम्रो विनम्र जवाफ हुनेछ – नो थ्याङ्क यु।’

अमेरिकी मनसायबारे कहिलेकाहिँ गलत सूचना प्रवाह हुने गरेको उनको भनाइ थियो।

‘अमेरिकी सेनाले नेपालमा के चाहँदैन भन्नेबारे म स्पष्ट शब्दमा भन्न चाहान्छु,’ राजदूत बेरीले भने, ‘हामीले कहिल्यै कुनै पनि बेलामा नेपालसँग सैनिक गठबन्धन गर्न खोजेनौँ। शीतयुद्ध उत्कर्षमा पुगेको समयमा समेत हामीले नेपाललाई सैनिक गठबन्धनमा सहभागी हुन भनेनौँ।’

उनले नेपाल अमेरिका वा अन्य कुनै पनि देशसँग आश्रित होस् भन्ने आफूहरुको चाहना नभएको बताए।

‘अमेरिकाले नेपालमा ७३ वर्षदेखि काम गर्दै आएको छ,’ बेरीले भने, ‘यस सयममा हामीले ३ अर्ब ३ करोड अमेरिकी डलर विकासमा खर्च गरेका छौँ। यो भनेको ३ खर्ब ८० अर्ब नेपाली रुपैयाँभन्दा बढी हो। अहिलेसम्म नेपाललाई अमेरिका परस्त हुन वा अमेरिकी गठबन्धनमा सहभागी हुन कहिले पनि भनेका छैनौँ।’

नेपाललाई नेपालपरस्त हुन र आफ्नो सर्वभौमिकता र स्वतन्त्रतालाई सुनिश्चत गर्न अमेरिकाले जहिले पनि सल्लाह दिने गरेको राजदूतले स्पष्ट पारे।

‘त्यही कारण म भन्दैछु, यी अफवाहहरु खतरनाक छन् र त्यो साँघुरो सोचाइ खतरनाक छ। किनभने यो क्षेत्र र विश्वमा नै परिस्थिति जटिल बन्दै गएको छ,’ उनले भने, ‘सधैँ नेपाल दुई ढुंगाबीचको तरुल हो भन्ने गरिएको छ। यदि यो साँचो हो भने नेपालले आफ्नो सामरिक रुपरेखा ध्यानपूर्वक बनाउनुपर्छ। र, त्यो नेपालको सार्वभौमिकतालाई संरक्षण गर्नमा केन्द्रित हुनुपर्छ।’

सम्बोधनमा राजदूत बेरीले नेपालमा ल्याउने भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन– एमसीसीको पनि बचाउ गरे।

‘जब मानिसहरुले एमसीसी जस्तो विकास कार्यक्रममा सैन्य गठबन्धनको बचनवद्धता छ भन्छन्, त्यो तथ्यगत रुपमा गलत हुन्छ। अमेरिकी कानुनले एमसीसीको रकम सैनिक गतिविधिमा प्रयोग हुन रोक्छ र एमसीसीको सबै सूचना सार्वजनिक रुपमा उपलब्ध छ,’ उनले भने।

उनले अमेरिकामा राष्ट्रपति जो बाडडेनको जीतपछि विश्व र यस क्षेत्रमा अमेरिकाले लिने नीतिको विषयमा पनि चर्चा गरे।

‘हाम्रो नेपाल नीति खासै परिवर्तन हुने छैन तर नयाँ प्रशासनको अवधारणामा आउने बृहत् परिवर्तनले नेपाल पनि प्रभावित हुनसक्छ,’ बेरीले भने।

प्रजातान्त्रिक संस्थाहरुको सशक्तिकरण र साझा चुनौतीको सामना अमेरिकाले अन्य मुलुकसँग मिलेर गर्ने उनले बताए।

त्यस्तै, अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धलाई सदृढ गर्ने, नेटोसँगको सहकार्यमा जोड दिने तथा नेपालसहित विश्वभरका प्रजातान्त्रिक शक्तिसँग सम्बन्ध बलियो बनाउने पनि उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .