पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुलाई शुक्रबार केन्द्रीय कार्यालय भेला हुन भनी अकस्मात बोलाइएको छ।
केन्द्रीय कार्यालयबाट बिहीबार साँझ सबै केन्द्रीय सदस्यहरुलाई एसएमएस सन्देश पठाई शुक्रबार १२ बजेभित्र आफ्नो नागरिकताको सक्कलसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको छ।
काठमाडौंबाहिर बिभिन्न जिल्ला पुगेका सदस्यहरुलाई पनि भोलि शुक्रबार अनिवार्यरुपमा काठमाडौं आइपुग्न भनिएको छ।
‘सबै केन्द्रीय सदस्यहरुलाई भोलि मध्यान्ह १२ बजेसम्म केन्द्रीय कार्यालयमा उपस्थित हुन एसएमएस गरिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टीको कार्यक्रममा सहभागी हुन यहाँ जिल्ला आइपुगेको थिएँ, खबर आएपछि अब काठमाडौं फर्किदैछु।’
केन्द्रीय सदस्यलाई राजधानी बोलाउनुको प्रयोजन खुलाइएको छैन।
‘सक्कल नागिरकतासहित उपस्थित हुनु भन्ने जानकारी आएको छ। विवरण हेर्दा निर्वाचन आयोगको प्रयोजनका लागि बोलाइएको हुनसक्ने देखिन्छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘तर के कारणले बोलाइएको हो खुलाइएको छैन।’
प्रचण्ड–नेपाल पक्षले माघ २० गते निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको भन्दै नेकपाको नाम, झण्डा र चुनाव चिन्हमा दावी गर्दै निवेदन दिएका थिए। तर आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन।
नेकपाका ४ सय ४१ केन्द्रीय सदस्य रहेकामा तीमध्ये २ सय ७३ जनाको हस्ताक्षरसहित प्रचण्ड–नेपाल पक्षले आयोगमा आधिकारिताको दावी गरेको छ।
त्यसअघि माघ १९ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बसेको थियो। सो बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दावी गरेको थियो।
प्रचण्ड–नेपाल पक्षले नेकपाभित्रको विवाद समाधान गरेर मात्रै निर्वाचन कार्यक्रम अघि बढाउन आग्रह गर्दै आएको छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको हो। त्यसलगत्तै प्रचण्ड नेपाल पक्षले शुरुमा पार्टी अध्यक्षबाट र त्यसपछि पार्टी सदस्यता बाटै हटाएको छ।
तर, आयोगले भने नेकपा विभाजनलाई आधिकारिकता दिएको छैन।
प्रधानमन्त्री ओलीले भने आफ्नो समूह नै नेकपाको आधिकारिक पक्ष भएको र आयोग चाहिँ दलको विवादमा प्रवेश गर्न नमिल्ने र उसले निर्वाचन तयारी थाल्नुपर्ने दाबी गर्दै आएको छ।
प्रतिक्रिया