‘आज माघ २९
सोचेजस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौ जिन्दगीमा यसै आहा छ’
रामकुमारी झाँक्रीले बिहानै फेसबुकमा लेखेकी थिइन्। बिहीबार उनको वैवाहिक वर्षगाँठ थियो।
केही दिनयता उनलाई गिरफ्तार गर्न लागिएको गाइँगुइँ चलिरहेको थियो। गोरखाको सभामा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासबाट निस्केर चुनावमा आउन चुनौती दिएपछि उनलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालाई नेकपाको ओली समूह निकट महिलाहरूले ज्ञापनपत्र नै दिएका थिए।
‘नत्र बालकोट गएपनि हुन्छ’ भन्ने उनको वाक्यांशलाई उधृत गर्दै सत्ताधारी पार्टीका समर्थक उनीविरुद्ध चर्को रुपमा खनिएका थिए।
बिहीबार बिहान साढे १० बजे झाँक्रीसँग फोनमा कुरा भयो। उनले घरमा प्रहरी आइसकेको बताएपछि हामी उनको निवास शंखमुलतर्फ लाग्यौँ।
त्यहाँ पुग्दा घर छेउमै सादा पोसाकका केही प्रहरी तैनाथ थिए। उनका छोरा आरभ भने बैठक कोठामा कुर्सीमा बसेर अनलाइन कक्षा लिँदै थिए। केही समयपछि अरु सञ्चारकर्मीहरु पनि आउन थाले। मानिसहरुको भीड बढ्दै गयो।
झाँक्रीलाई पक्रिन निवासमा प्रहरी आएको खबर प्रकाशित भएपछि नेकपाका युवा तथा विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरु जम्मा हुन थाले। कार्यकर्ताको हुलमुलमा सादा पोसाकका केही प्रहरी समेत निवासमा छिरे।
‘को हो तपाईंहरु’ भनेर सोधेपछि उनीहरुले प्रहरी भएको बताए। फोनमा कुरा गर्दै उनीहरु केही समयपछि कम्पाउन्डबाट बाहिरिए।
सञ्चारकर्मीहरु भेला भएपछि झाँक्रीले कुराकानी सुरु गरिन्। उनले प्रधानमन्त्री र राष्ट्रपतिले नै आफूलाई राजनीतिक प्रतिशोधले सताउन खोजेको बताइन्।
नेकपा एकै हुँदा पनि झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएकी थिइन्।
उनले गोरखामा दिएको अभिव्यक्ति कुनै व्यक्तितर्फ नभई पदासीनको भूमिकाप्रति भएको स्पष्ट पारेकी थिइन्।
हिजो माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको विरोधसभामा पनि उनले मुखमा बाँधिएको कालो पट्टी खोल्दै ‘बोल्न पाउनुपर्छ’ भन्दै सम्बोधन सुरु गरेकी थिइन्। जहाँ उनले आफुले राष्ट्रपति व्यक्ति होइन संस्थाको भूमिकामा प्रश्न उठाएको स्पष्ट गरेकी थिइन्।
‘तानाशाहहरु ढल्ने बेलामा यस्तै भूमिका खेल्छन्। नन इस्युलाई इस्यु बनाउँछन्,’ आज पक्राउ पर्नुअघि झाँक्रीको भनाइ थियो, ‘ठाउँ विशेषको नाम लिँदा कसैको इज्जत र प्रतिष्ठासँग जोडिन्छ भन्ने लाग्दैन। कि सरकारले, प्रधानमन्त्री र राष्ट्रपतिको यो प्राइभेट विषय हो, यसको नाम लिन पाइँदैन भन्नु प¥यो। बानेश्वर, कोटेश्वर, चाबहिल, बालकोट, भक्तपुर भन्न नपाउने विषय होइन।’
गणतन्त्रको प्रतीकको रुपमा रहेको राष्ट्रपतिले निरंकुश राजतन्त्रको भद्दा अभ्यास गरेको कारण विरोध गर्नुपरेको उनले बताइन्।
‘राष्ट्रपतिका रुपमा जो व्यक्तिले शीतलनिवासमा रजगज गरेको छ, उसले गर्ने राजतन्त्रको भद्दा अभ्यासको विरोध हुनु र त्यसका लागि आन्दोलन गर्नेबीच टकराव हुनु स्वभाविक हो,’ उनले भनिन्।
२०६२/०६३ को आन्दोलनको समयमा प्रहरीको लाठी प्रहारबाट टाउको फुटेर रगतपच्छे भएकी थिइन् झाँक्री। सोहीकारण उनी आन्दोलनको ‘पोस्टर गर्ल’ बनेकी थिइन्।
पत्रकारहरुसँग कुराकानीमा उनले आफूलाई प्रहरीले झिकाएको तर, जवाफमा पक्राउ पुर्जी लिएर आउन भनेको जानकारी थिइन्। कुराकानी चल्दै गर्दा घर बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या थपिँदै थियो। त्योभन्दा बढी समर्थक र कार्यकर्ता जम्मा हुँदै थिए।
एकैछिनमा बाहिर चर्को नाराबाजी सुरु भयो।
प्रहरी र विरोध गर्नेहरुबीच बाहिर तनावको स्थिति बन्यो। प्रहरी घरभित्र पस्न खोज्थ्यो, प्रदर्शनकारी उनीहरुलाई धकेलेर बाहिर पुर्याउँथे।। त्यसैक्रममा एक जनामाथि कुटपिट भयो। जसलाई प्रहरीले बचाएर अस्पताल पु¥याएको थियो।
प्रचण्ड–नेपाल समूहका युवा नेताहरु ठाकुर गैरे, दीपकप्रकाश भट्ट, राजु गुरुङ, नरेश शाही मात्रै नभएर उनीप्रति ऐक्यवद्धता व्यक्त गर्न तरुण दलकी नेतृ लक्ष्मी खतिवडा पनि झाँक्री निवासमा पुगेकी थिइन्।
उनको पक्राउको विरोधमा रहेका विद्यार्थी तथा युवाहरुले घरको गेट थुनेका थिए। झाँक्रीसँगै कुराकानी गरेपछि केही प्रहरीलाई उनको घरभित्र प्रवेश गर्न दिइएको थियो। उनीहरुले पक्राउ पुर्जी लिएर आएका थिए।
बाहिर प्रहरी र आन्दोलनकारीबीच नाराबाजी र ठेलमठेल चलिरहेको थियो। घरको बरन्डामा निस्किएर त्यहाँ उपस्थित समर्थकहरुलाई झाँक्रीले सम्बोधन गरिन। आवाज नसुनिएको भन्दै समर्थकको हुलबाट आवाज आएपछि प्रहरीकै माइक मागेर उनले सम्बोधन गरिन्।
उनले ‘राज्यको कानुन मान्छु’ भन्दै आफू प्रहरीसँग जाने र निरंकुशतन्त्र धेरै दिनसम्म नचल्ने बताइन्।
विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्रीले लडाकु नेताको छवि बनाएकी छन्। प्रतिनिधिसभा विघटनविरुद्ध उनीसहितका नेकपाका नेताहरुले दायर गरेको रिटमाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ।
उनलाई पक्राउ गर्दै गर्दा उनका पति पशुपतिबाबु पुरी कार्यालयबाट घर आइपुगे।
‘आजै एनभर्सरी होइन?’ ढोकैमा उनलाई सोधियो।
‘हो। एघारौँ एनिभर्सरी हो,’ पुरीले भने।
तनावमा रहेका उनी धेरै बोल्न चाहिरहेका थिएनन्।
झाँक्रीलाई गिरफ्तार गरेर बाहिर निकालिएपछि उनको कोठा सुनसान बनेको थियो। उनका छोरा आरभ पहिलेकै कुर्सीमा बसेर टुलुटुलु ढोकातर्फ हेरिरहेका थिए।
प्रतिक्रिया