ad ad

राजनीति


शंकर पोखरेलको आरोप : नेकपा विभाजनको प्रमुख कारक प्रचण्ड

शंकर पोखरेलको आरोप : नेकपा विभाजनको प्रमुख कारक प्रचण्ड

नेपालखबर
पुस १९, २०७७ आइतबार ९:१४,

प्रधानमन्त्री केपी शर्मा ओली समूहका स्थायी समिति सदस्य शंकर पोखरेलले नेकपा विभाजनको मुख्य कारक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको आरोप लगाएका छन्।

‘अहिलेको परिस्थितिको मुख्य जिम्मेवार प्रचण्ड हो, उहाँले प्रथम अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपपत्र नै अहिलेको संकटको आधार हो,’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बुटवलमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘प्रथम अध्यक्षमाथि कम्युनिष्ट, गणतन्त्रवादी, संघीयतावादी र समाजवादी केहि पनि होइन भनेर दस्तावेज प्रस्तुत गरेका कारण यो स्थिति आयो।’

पोखरेलले प्रचण्डले सो आरोपपत्र पार्टी कब्जा गर्ने, अध्यक्ष तथा प्रधानमन्त्रीलाई कारबाही गर्ने उद्देश्यसहित आएको हुँदा त्यसलाई रोक्नुपर्ने भनेर आफूहरुले प्रयास गर्दा त्यसको वास्ता नगरिएको बताए।

‘निषेधको उद्देश्यले आरोपपत्र ल्याएको हुँदा ओलीले त्यस्ता आरोपमा छलफल नबस्ने भएपछि हामीले अब दुवै प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाउँ भनेर हामीले भन्यौं,’ उनले भने, ‘प्रस्ताव फिर्ता लिएर अब पार्टी कसरी सञ्चालन गर्ने भनी हामीले खाका बनाउन सक्छौं भन्यौं तर उहाँ तयार हुनुभएन।’

ओलीले कम्युनिष्ट एकताको महान कार्यको अगुवाइ गर्दा प्रचण्डले पार्टी कब्जा गर्ने मनसाय राखेको समेत उनले दाबी गरे।

कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग मिलेर पार्टीलाई अघि बढाउनुपर्नेमा पूर्वएमालेसँगको अन्तरविरोधमा खेल्न खोज्नु अहिलेको संकटको अर्को कारण भएको उनको तर्क थियो।

उनले प्रचण्ड–नेपाल पक्षका नेताहरुलाई जनतामा जाने आँट नभएर चुनावमा जान नचाहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .