विश्वका प्रेरणादायी र प्रभावशाली महिलाको रुपमा छनोट भएकी नेपाली किशोरी सपना मगरले बेवारिसे (व्यक्ति र शव) व्यवस्थापनमा संवेदनशील हुन राष्ट्रपति समक्ष आग्रह गरेकी छन्।
आइतबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटमा सपनाले राज्यले बेवारिसे व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरिन्।
‘राष्ट्रपतिजस्तो ठाउँमा महिला हुनुहुन्छ। तर पनि हाम्रो देशमा महिला र बालबालिकाको अधिकारका लागि राज्यले ध्यान दिन सकेको छैन’, सपनाले राष्ट्रपति समक्ष भनिन्, ‘हजुरको कार्यालयभन्दा एक सय मिटर पर जाने हो भने सडकमै दर्दनाक अवस्थामा भेटिन्छन् बालबालिका।’
राष्ट्रपति भण्डारीले भने यस विषयमा राज्यले काम गरिरहेको बताउँदै आफूले उठाएका विषय प्रधानमन्त्री समक्ष राख्ने आश्वसन दिएको सपनाले भेटपछि नेपालखबरलाई बताइन्।
यसअघि उनले अर्थमन्त्री विष्णु पौडेल र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठसँग भेट गरेकी थिइन्। सपनासँगको भेटपछि अर्थमन्त्री पौडेलले देशभरका घाटमा बेवारिसेको शव व्यवस्थापन निःशुल्क गर्न सकिने निर्णय गरेका छन्। यस्तै विदेशबाट आउनेको शव व्यवस्थापन पनि निःशुल्क हुने छ।
गत मंसिर ८ गते बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा १९ वर्षीया सपनालाई पनि छनोट गरिएको थियो। सपना सडकका बेवारिसेलाई खाना खुवाउने र बेवारिसेको अन्त्येष्टि गर्ने कार्यमा सक्रिय छिन्।
Shares
प्रतिक्रिया