ad ad

राजनीति


गृहमन्त्री थापा ओलीतिरै, नयाँ एमालेको सहअध्यक्ष बन्दै

गृहमन्त्री थापा ओलीतिरै, नयाँ एमालेको सहअध्यक्ष बन्दै

नेपालखबर
पुस ५, २०७७ आइतबार ११:२४,

नेकपा सचिवालयका सदस्य तथा गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहने भएका छन्।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएपछि पूर्वमाओवादी पक्षका पाँच र माधव नेपाल पक्षका दुईसहित सात जना मन्त्रीहरूले राजीनामा दिएका छन्।

पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर तथा पूर्वएमालेबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराईले राजीनामा दिएका हुन्।

पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बनेका थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा घोषणा गरेनन्। यसले उनीहरू दुवै जना प्रधानमन्त्री ओलीको साथमा रहेको देखिएको छ।

प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद बैठकबाट लिनुअघि नै गृहमन्त्री थापासँग सल्लाह गरेका थिए।

‘गृहमन्त्री थापालाई संसद विघटनको सिफारिस हुँदैछ भन्ने केही दिन अगाडि नै थाहा थियो’, थापा निकट एक नेताले नेपालखबरसँग भने, ‘आज आइतबार मन्त्रीपरिषद बैठकअघि बिहान सात बजे नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर अन्तिम सल्लाह गर्नुभएको थियो।’

शनिबार अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट फर्किएर पुल्चोकस्थित मन्त्री निवास पसेर थापासँग भेटेका थिए।

पछिल्लो समय नेकपाभित्रको विवादमा थापा ओलीकै साथमा देखिँदै आएका थिए। गत भदौमा विवाद उत्कर्षमा पुगेको बेला सानेपामा भएको प्रचण्ड–माधव नेपाल पक्षको भेलामा ओलीविरुद्ध अभिव्यक्ति दिएपनि उनी त्यसपछि फेरि ओलीतिर नै देखिँदै आएका थिए।

पछिल्लो समय थापाले प्रचण्ड र ओली दुवैको प्रस्ताव फिर्ता हुनु पर्ने र पार्टीको विवाद मिलाउन कार्यदल गठन गर्नुपर्ने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए, जुन बहुमतले अस्वीकृत भएको थियो।

थापा निकट ती नेताका अनुसार ओलीले उनलाई संसद विघटनपछि पनि गृहमन्त्री कायम राख्ने र नेकपा विभाजन भएपछि बन्ने नयाँ पार्टाीमा सहअध्यक्ष बनाउने आश्वासन दिएका छन्।

‘संसद विघटनपछि पनि गृहमन्त्री रहरिहने र नयाँ पार्टीमा ओलीपछि दोस्रो नम्बरमा रहने गरि थापालाई सहअध्यक्ष बनाउने आश्वासन ओलीबाट आएको छ’, थापा निकट ती नेताले भने, ‘त्यसैले आइतबार संसद विघटन भैसक्दा पनि उहाँको हावभाव ओलीतिरै रहने देखिएको छ।’

थापा ओलीलाई साथ दिने पूर्वमाओवादी पक्षका सबैभन्दा वरिष्ठ नेता हुनेछन्। र, नेकपाको सचिवालय सदस्य पनि भएको हिसावले यदि नेकपा विभाजन भएर ओलीको नेतृत्वमा नयाँ एमाले गठन भएमा थापाले दोस्रो नम्बर दाबी गर्नु स्वभाविक पनि देखिन्छ।

ओली निकट नेता महेश बस्नेतले आइतबार संसद विघटन भएपछि ‘अब पूर्वएमाले ब्युँताउने’ बताइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .