प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य, जनसंख्या तथा वातावरणमन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ।
समितिको बिहीबार बसेको बैठकले मन्त्री ढकाललाई शुक्रबार दिउँसो १ बजे छलफलका लागि बोलाएको समितिका सभापति भरत शाहले जानकारी दिए।
समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छानबिन गरिरहेको छ। समितिले सोही विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाएको हो।
सभापति साहले चार महिनाअघि नै बोलाउने निर्णय भएको भए पनि अहिलेसम्म मनत्री ढकाल समितिमा उपस्थित हुन मानेका थिएनन्। अहिले मन्त्रीसँग सल्लाह गरेर नै समय मिलाइएको सभापति शाहले बताए। समितिले यसअघि नै तत्कालीन स्वास्थ्य सचिवहरू, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुखलाई पनि सोधपुछ गरिसकेको छ।
२०७६ चैतमा कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा अनियमितता भएको र कमसल सामग्री खरिद गरिएको विषयमा लेखा समितिले छानबिन थालेको हो। उक्त सामग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो।
Shares
प्रतिक्रिया