ad ad

राजनीति


अन्तरिक्ष यानकी ‘रकेट कनेक्टर’ : चीनकी ‘स्वर्गकी परी’

अन्तरिक्ष यानकी ‘रकेट कनेक्टर’ : चीनकी ‘स्वर्गकी परी’

चेतनाथ आचार्य
मंसिर २६, २०७७ शुक्रबार ४:१५,

यतिबेला चिनियाँ समाजिक सञ्जालमा एक २४ वर्षीय चिनियाँ युवती चर्चामा रहेकी छन्। सुन्दर अनुहार र जिज्ञासु हेराइ भएकी ती चिनियाँ सुन्दरीलाई चिनियाँहरुले ‘ठूली दिदी’ भनेर प्रशंसा गरिरहेका छन्। मात्र २४ वर्ष पुगेकी युवतीलाई प्रौढ चिनियाँले पनि ठूली दिदी भनेर सम्बोधन गर्नु उनीप्रतिको सम्मान र गौरव दर्शाउनु हो। धेरैले मन पराएको ती चिनियाँ सुन्दरी कुनै चलचित्रकी नायिका अथवा पौडीवाज होइनन्। चीनमा सामान्यतः चलचित्रकी नायिकापछि पौडी खेल्ने जलपरीलाई सुन्दरीको उपमा दिइन्छ।

चिनियाँ मिडियामा भाइरल भएकी ती सुन्दरी चीनको ‘छाङअ ५’ चन्द्रमा अन्वेषण अन्तरिक्ष यान मिसनमा सहभागी अन्तरिक्ष अनुसन्धानकर्ता चौ छनयु हुन्। उनी वनछाङ अन्तरिक्ष प्रक्षेपण केन्दमा रहेर काम गरिरहेकी छन्। उनी ‘छाङअ ५’ मा रकेट कनेक्टर प्रणालीकी प्रमुख हुन्। अन्तरिक्ष अन्वेषणमा रकेट कनेक्टरको काम सबैभन्दा जटिल मानिन्छ। उनी यो मिसनको सबैभन्दा कम उमेरकी कमाण्डर पनि हुन्।

‘छाङअ ५’ चीनले सन् २०१३ देखि चन्द्रमा अन्वेषणमा प्रक्षेषण गर्दै आएको रकेटको नाम हो। यो रकेटको पाँचौ शृङ्खलाका रुपमा ‘छाङअ ५’ गत नोभेम्बरमा चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। ‘छाङअ ५’ चीनको विगत सात वर्षको तेस्रो सफल चन्द्रमामा अवतरण गरेको अन्तरिक्ष यान हो। सन् २०१९ को जनवरीमा चन्द्रमाको अर्कोपाटोमा चीनले ‘छाङअ ४’ लाई सफलतापूर्वक अवतरण गराएको थियो।

‘छाङअ ५’ चन्द्रमा लक्ष्य लिएर प्रक्षेपण गरेपछि नोभेम्बर २४ देखि चौ छनयु चिनियाँ समाजिक सञ्जालमा चर्चित बनेकी हुन्। त्यसको चारदिनपछि उनी अन्तर्राष्ट्रिय सञ्चारजगत र समाजिक सञ्जालमा पनि चिनिन थालिन्। नोभेम्बर २८ मा चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङले गरेको ट्वीटले उनलाई विश्वमै चर्चित बनायो।

ह्वाले ट्वीट गर्दै लेखेको थिइन्, ‘चिनियाँ थुच्या अल्पसंख्यक जातिकी महिला चौ चङयुले छाङअ ५ प्रक्षेपणको रकेट जडान प्रणालीको मिसन लिएकी छन्।’

Chinese Rocket Connector3

चीनको क्वीचौ प्रान्तकी चौ चिनियाँ ट्वीटर मानिने वीइपोमा अहिले पनि उच्च ट्रेण्डिङमा रहँदै आएकी छन्। उनलाई अन्तरिक्ष अनुसन्धानमा अग्रभागमा उभिने ‘सेना’ र ‘ठूलीदिदी’ भन्दै चिनियाँहरुले चीनको गौरव र प्रतिष्ठासँग जोडिरहेका छन्। केहीले चाहिँ आफैँलाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘हामी उनको उमेरमा के गरिरहेका थियौँ?’

चन्द्रमा अन्वेषणमा चीन अमेरिका र रुसपछिको सफल राष्ट्र हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन राष्ट्रको महान् पुनर्जागरणमा अन्तरिक्ष सपना रहेको बताएका छन्। यही उद्घोषणलाई केन्द्रबिन्दुमा राखेर चीनले अन्तरिक्ष अन्वेषण गर्दै आएको छ। अहिलेसम्म चीनले थुप्रै सफलता पनि प्राप्त गरिसकेको छ।

सन् २००६ मै अन्तरिक्षसम्बन्धी चिनियाँ वैज्ञानिक प्रोफेसर ओयुयाङ चियुआनले पिपुल्स डेलीलाई भनेका थिए, ‘चन्द्रमा अन्वेषणले राष्ट्रको समग्र राष्ट्रिय शक्ति देखाउँछ।’

ती प्रोफेसरको भनाइ अहिले पुष्टि भएको छ। किनभने चन्द्रमा अन्वेषणमा चीनले प्राप्त गरेको सफलताले चीनको शक्ति पनि प्रदर्शन गरेको छ।

पछिल्लो समय चीनलाई हरेक क्षेत्रमा अमेरिकाको प्रतिस्पर्धी मान्ने गरिएको छ। चन्द्रमा अन्वेषणमा चीनको यो सफलताले पनि यही कुरालाई पुष्टि गरेको छ। अहिलेसम्म चन्द्रमाबाट ढुङ्गा र माटोको नमूना ल्याउन अमेरिका र रुस मात्र सफल भएका छन्। त्यो सफलताले चार दशक बिताउँदा पनि अर्को कुनै सफलता ती दुई राष्ट्रले गर्न सकेका छैनन्। तर चीनले चन्द्रमामा यान प्रक्षेपण गर्न थालेको सात वर्षको छोटो समयमै यो उल्लेख्य सफलता प्राप्त गरेको हो।

अहिलेसम्म चन्द्रमामा रोबट राखिएको स्पेसक्राफ्ट अवतरण गराउन चीन मात्र सफल भएको छ। यस्तो यन्त्र गतवर्ष चीनले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गराएको हो। आगामी केही दशकमै चीनले चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना गर्ने र मंगल ग्रहमा मान्छे पठाउने तयारी गरेको छ। यी दुई महत्वाकांक्षी लक्ष्य प्राप्त गर्न चीन सफल भएमा अन्तरिक्ष अन्वेषणमा चीनले अमेरिकालाई सहजै उछिन्ने मानिन्छ।

अन्तरिक्ष अन्वेषणको यस प्रकारको सफलताले चीनको प्राविधिक र वैज्ञानिक क्षमता अन्य राष्ट्रको भन्दा अब्बल भएको पनि पुष्टि गर्छ। यस प्रकारका अन्वेषणले जलवायु परिवर्तनदेखि दिगो विकास, उडान सुरक्षा, नक्षत्र विज्ञान, प्राकृतिक प्रकोपको पूर्व सूचना लगायतका उपलब्धि प्राप्त हुनेछन्।

Chinese Rocket Connector4

गत नोभेम्बर २४ मा प्रक्षेपण गरिएको ‘छाङअ ५’ डिसेम्बर ८ तारिख मङ्गलबार साँझ चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको हो। योजना अनुसार रोबटले चन्द्रमाबाट २ किलो ढुङ्गा र माटोको नमूना ल्याउनेछ। निर्धारित योजनाभन्दा एक दिन अगाबै रोबटले १९ घण्टा लगाएर नमूना सङ्कलन गरिसकेको छ। नमूना सङ्कन गरेर पृथ्वीमा फर्कनुलाई ठूलो सफलता मानिन्छ। यस प्रकारको सफलता सन् १९७६ पछि कुनै पनि राष्ट्रले पाएका छैनन्। यही डिसेम्बर महिनाभित्रमा चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशको घाँसे मैदानमा ‘छाङअ ५’ अवतरण हुनेछ।

चन्द्रमा अन्वेषणमा चीनले निकै ठूलो सफलता प्राप्त गरे पनि आम चिनियाँका लागि चन्द्रमा एउटा मिथक र दन्त्यकथाको स्वर्गकी परीका रुपमा सर्वाधिक चर्चित छ। अमृतको घडा झुक्किएर खाएकी श्रीमती चन्द्रमामा बसेकी र हरेक मध्यशरद चाडमा आफ्नो श्रीमान्‌लाई भेट्न धर्तिमा आउने गरेको कथा चीनमा यति लोकप्रिय छ कि मध्यशरद चाडको दिन सार्वजनिक विदा दिइन्छ र सो दिन चन्द्रमा नहेरिकन प्राय चिनियाँले बेलुकाको खाना खाँदैनन्। आफ्नो पुरानो चलन र परम्परालाई अनुसरण गर्ने कुरामा चिनियाँहरु सबैभन्दा कट्टर मानिन्छन्। त्यही देशले चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना गर्नु अनौठो र विरोधाभाष सुनिन्छ।

उल्लिखित कथाका आधारमा चिनियाँहरु चन्द्रमालाई परी मान्छन्। छाङअको अर्थ पनि परी नै हो। नेपालीले बुझेजस्तै चिनियाँ भनाइमा पनि छमछम नाच्ने अत्यन्त सुन्दरी युवती नै परी हो। त्यही परी अर्थात् छाङअको लक्ष्यमा अहिले चर्चित बनेकी २४ वर्षीय चिनियाँ सुन्दरी चौ छनयु पनि स्वर्गकी परीभन्दा कम छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .