विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईसहित एक समूह साझा पार्टीसँगको एकीकरणमा सहभागी नहुने भएको छ। उपाध्यक्ष राईसहित १३ जनाले एकतामा सहभागी नहुने भन्दै विवेकशील छाडेका छन।
दुबै दलबीचको एकता अन्तिम चरणमा रहेको बताइरहँदा विवेकशीलबाट एक समूह बाहिरिएपछि एकतामा समेत धक्का पुगेको छ।
एकता प्रक्रियाबाट अलग हुनेमा उपाध्यक्ष अजीता राई, कार्यालय सचिव(व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंङ तामाङ, विजय बाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी छन्।
उनीहरु एकता प्रक्रियामा सामेल नहुनुको कारणबारे उपाध्यक्ष अजिता राईसँग नेपालखबरले गरेको कुराकानीः
तपाईंहरु साझासँगको एकीकरणमा सहभागी नहुने निर्णयमा किन पुग्नुभयो?
एकीकरणको कुरा उठ्दा नै सुरुबाटै आन्तरिक रुपमा हामीले एकतामा जान नहुने कुरा उठाउँदै आएका थियौं। कुरा अहिले बाहिर आएको मात्रै हो। पहिले पनि साझासँग हाम्रो तिक्ततापूर्ण विछोड भएको थियो। ती कारणहरु अझैपनि ज्युँ का त्युँ छन। अहिले एकतामा जानु विवेकशीलका लागि उपयुक्त समय हैन भनेर एकीकरणमा नजाने कुरा उठाएका हौं। दुबै पार्टीका सदस्यपंक्तिहरु एकआपसमा एकअर्कालाई स्वीकार्न नसक्ने कारण पनि थियो। त्यहीकारण सहकार्य गर्नसक्छौं, गरौं। तर, एकीकरण बिस्तारै गरौंला भनेका हौं।
साथसाथै, विवेकशील नेपाली दलका पनि गर्नुपर्ने आफ्नै कामहरु थिए। विगतमा प्रदेशहरुमा हाम्रो उपस्थिति नभएका कारण चुनावमा नराम्ररी पछारिनुपरेको थियो। अहिले पनि त्यही अवस्था छ। साझाबाट छुटेपछि हामीले संघीय रुपमा मात्रै केही सदस्यहरु चुनेका छौं। तर बाँकी संरचना बनेका छैनन। हामीले विवेकशीलको संरचना पनि बनाऔं, साझासँग सहकार्य गर्दै जाऔं र भोलिका दिनमा टुट्दै नटुट्ने खालको एकता गरौं भनेका हौं। तर अन्य साथीहरुले समय यही हो भन्नुभयो। यो समय ‘धान रोप्ने बेला फाँको उठाउने’ जस्तो भयो भनेर हामी अहिले एकीकरणमा सहभागी नहुने भन्ने निचोडमा पुगेका हौं।
तपाईहरुको स्पष्ट भनाई विवेकशीललाई नै अघि बढाऔं भन्ने हो?
हो, दलको आआफ्नो संरचना हुन्छ। त्यसलाई सुधार गरौं। अझ बलियो बनाऔं भन्ने थियो। फेसबुक र उपत्यकामा सीमित हुनभएन। त्योभनदा बाहिर जाऔं। दूरदराजमा जाऔं। त्यसले स्थानीय मत पनि आउँछ। हामीलाई बलियो पनि बनाउँछ। एजेन्डालाई नागरिकसँग घुलमिल गराउँ भनेका हौं। तर साथीहरु (एकतामा जाने) ठूलो पार्टी बन्ने हो, कम्युनिष्ट र कांग्रेसलाई झ्याप्पै ढाल्ने हो भन्नुहुन्छ, अलि पत्याउने कुरो पनि गर्नुपर्यो नी।
तपाईहरुको कुरामा विवेकशीलकै नेतृत्वले किन सहमति जनाएन त?
सुरुमा आन्तरिकरुपमा छलफल गर्यौं। दललाई १०–१५ दिनअघि जानकारी पनि गराएका थियौं। मानिसहरु आ–आफ्नो विचारबाट निर्देशित हुने गर्छन। शक्तिमा पुगेपछि सबैकुरा गर्न सकिन्छ भन्ने ठान्नेहरु पनि छन। शक्तिमा पुग्नैपर्छ भन्ने मनसाय पनि हाम्रै समाजमा रहेका उहाँहरु त्योबाट पछि हट्न सक्नुभएन।
तपाईहरुको पार्टी नै साझासँग मिल्ने भएपछि अब तपाईहरुले के गर्नुहुन्छ त?
पहिले जुन विवेकशीलको जिम्मेवारीमा थियौं त्यही जिम्मेवारीमा रहेर अन्य कल्पना गर्नु हाम्रो नैतिकताले दिदैँनथ्यो। भर्खरै हामी हाम्रो जिम्मेवारीबाट बाहिरिएका थियौं। हाम्रो शुभचिन्तकसँग, नजिकका साथीहरुसँग सरसल्लाह गर्दैछौं। केही साथीहरुले दल दर्ता गर्नु भन्नुभएको छ। अहिले नै गर्ने कि थप छलफल गरेपछि गर्ने भन्नेमा हामी छलफलमै छौं।
विवेकशील दल नै दर्ता गरेर अघि जाने सोचमा हुनुहुन्छ?
यसमा हामी एकदमै प्रारम्भिक छलफलमै छौं। नेतृत्वलाई जानकारी दिएको १०–१५ दिनमात्रै भयो। त्यसपछि हामी अलग्गियौं। छलफलका क्रममा छौं। सदस्यहरुको गति पनि समात्नै प¥यो। त्यसकारण चाँडो निर्णय पनि होला। तर नाम यही राख्ने कि अरु भन्नेबारे अहिले छलफल भएकै छैन।
यो पनि:
- साझासँगको एकताप्रति असहमति राख्दै उपाध्यक्षसहित एक समुहले छाड्यो विवेकशील
- साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी
Shares
प्रतिक्रिया