ad ad

राजनीति


प्रचण्डले संसद विघटन गर्ने कुरा के हो भनेर सोधेलगत्तै प्रधानमन्त्री पुगे राष्ट्रपति भेट्न

प्रचण्डले संसद विघटन गर्ने कुरा के हो भनेर सोधेलगत्तै प्रधानमन्त्री पुगे राष्ट्रपति भेट्न

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार १६:३४,

सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चालेको कदम साम्य पार्न नेकपाका नेताहरूलाई भेटेर छलफल गरिरहेको लुकेको छैन।

शनिबार लक्ष्मी पूजाको दिन प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग करिब ४० मिनेट छलफल गरेको शीतलनिवास स्रोतले पुष्टि गरेको छ।

शुक्रबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीभित्र देखिएका समस्याको निकास दिन त्याग गर्नुपर्ने भन्दै राजीनामा दिन संकेत गरेका थिए। शनिबार ओली पक्षीय नेताहरूले प्रचण्डले सो प्रस्ताव नै फिर्ता लिनु पर्ने बताइरहेका छन्।

प्रचण्डले शुक्रबार बैठककै क्रममा ओलीको १० पृष्ठ लामो पत्रको लिखित जवाफ पनि फर्काएका थिए, जसमा संकटकाल लगाउने, संसद विघटन गर्ने कुरा के हो भनेर ओलीलाई सोधिएको छ।

‘पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड?’, प्रचण्डले पत्रमा ओलीसँग सोधेका छन्, ‘यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि? संकटकाल लगाएर जान्छु भन्ने हो कि? सदन विघटन गर्ने कुरा हो कि?’

यसअघि पार्टीमा विवाद चुलिएका बेला ओलीले संविधानमा रहेको दल विभाजनको प्रावधानलाई परिवर्तन गर्न संसद वा पार्टीको केन्द्रीय समितिमध्ये एक निकायमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्ने गरी राष्ट्रपतिबाट अध्यादेश जारी गराएका थिए, जुन व्यापक दबाबपछि फिर्ता गरिएको थियो।

अहिले फेरि विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले त्यस्तै अध्यादेश ल्याउने, संकटकाल लगाउने वा संसद विघटन गर्ने योजना त बनाउँदै छैनन् भनेर अर्को पक्षका तर्फबाट प्रचण्डले पत्रमा प्रश्न उठाएको देखिन्छ।

यही बेला राष्ट्रपतिसँग प्रधानमन्त्रीले शनिबार गरेको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .