ad ad

राजनीति


समान हैसियत हुँदाहुँदै ओलीलाई एक नम्बर अध्यक्ष मानिदिनु मेरो कमजोरी भयोः प्रचण्ड

समान हैसियत हुँदाहुँदै ओलीलाई एक नम्बर अध्यक्ष मानिदिनु मेरो कमजोरी भयोः प्रचण्ड

सागर न्यौपाने
कात्तिक २७, २०७७ बिहिबार १०:३०,

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र व्यापक ध्रुवीकरण भइरहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले आफूलाई अपमानित गरेको र पार्टीलाई धोका दिएको भन्दै प्रचण्डले पार्टीभित्र वारपार हुने संकेत गरे। यद्यपि नेकपा दुई फ्याक भएर नफुट्ने उनको दाबी छ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने धम्की दिइरहेको बेला प्रचण्डले कार्यकर्ताहरुमाझ यस्तो अभिव्यक्ति दिएका हुन्। आफूलाई भेट्न खुमलटार निवास आइपुगेका केही केन्द्रीय सदस्य र विद्यार्थी नेतासँग बुधबार साँझ प्रचण्डले पार्टीभित्रको आन्तरिक संघर्ष निर्णायक मोडमा पुगेरै छाड्ने दाबी गरे। प्रधानमन्त्री ओलीले पार्टी एकताको मूल मर्म बिर्सेको, गन्तव्य समाजवाद भनेर हुल्लडबाजीतर्फ पुर्‍याएको आरोप पनि लगाए।

उनले प्रधानमन्त्री ओलीसँग सहमति नभए उनलाई हटाउने प्रयास गरिने पनि बताए।

‘पार्टी एकता गर्दा नेकपारुपी जेट समाजवादतिरको यात्रामा जान्छ भनेका थियौं। तर, समाजवाद भनेर यो त हुल्लडबाजीतिर अगाडि बढिरहेको छ,’ प्रचण्डले भने, ‘समाजवादको भ्रम दिएर अन्तै यात्रा मोड्ने पाइलटलाई हटाइन्छ। त्यसपछि समाजवादतिरै यात्रा गर्ने यात्री र पाइलट तयार गर्ने हो।’

ओलीले आफूविरुद्ध निरन्तर जालझेल, षड्यन्त्र गरेकाले पार्टीभित्र संघर्ष सुरु भएको बताए।

‘प्रधानमन्त्रीसँग मैले पटकपटक सम्झौता गरेकै हो, मिलाएर लैजाने कुरामा सहमति गर्ने र एउटा समस्या टार्ने तर, कार्यान्वयन गर्दै नगर्ने, उल्टै विभिन्न ठाउँमा गएर मेरै विरुद्ध षडयन्त्र, जालझेल, बेइमानी गर्नुभयो,’ उनले भने, ‘यहीँबाट पार्टीभित्र नयाँ खालको संघर्ष सुरु भएको हो।’

प्रधानमन्त्री ओलीले व्यवस्थालाई खतरामा पारेको दाबी उनले गरे।

‘अहिले हजारौंको रगतबाट बनेको संविधान रहन्छ कि रहँदैन, हामीले लडेर ल्याएको व्यवस्था रहन्छ कि रहँदैन भन्ने चिन्ता छ,’ प्रचण्डले प्रधानमन्त्री ओलीले संघीयताका विषयमा दिएको अभिव्यक्तितिर संकेत गर्दै प्रचण्डले भने, ‘हामी हाम्रा उपलब्धि रक्षाका लागि लागेका छौं, यो संघर्ष त्यसतिर केन्द्रित छ, यसलाई निर्णायक मोडमा नपुर्‍याउँदासम्म यो संघर्ष रोकिँदैन।’

प्रचण्डलाई वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन्। यस आधारमा अहिलेसम्म उनी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा बहुमतमा छन्।

अरु के भने प्रचण्डले?
ओलीजीको अतिवाद, एकताका विरुद्धको गतिविधिलाई रोक्न अब पार्टीभित्र विधि, प्रक्रिया, एकतालाई जोगाउन चाहनेहरु एक ठाउँमा उभिएर लड्ने हो। अब यो प्रयास रोकिँदैन। ठीक ठाउँमा नपुग्दासम्म यो यात्रा रोकिँदैन।

अहिलेको लडाइँ पूर्वमाओवादी र पूर्वएमालेबीचको होइन, विचारको, आचरण र शैलीको लडाइँ हो। विधि, प्रक्रिया मान्नेहरु जुनबाट आएपनि एकठाउँमा हुन्छौं।

माओवादी मात्रै पनि ध्रुवीकरण हुँदैन, एमाले मात्रैको पनि हुँदैन, हिजोको एकताको जुन भोलुम हो, पहिचान हो, त्यो जस्ताको त्यस्तै रहँदैन। अहिलेको संघर्ष त्यसमा मात्र आधारित होइन, त्योभन्दा माथि उठेर हो।

सकेसम्म ओलीलाई पार्टी फुटाउन नदिने, रोक्ने। तर, सकिएन भने पनि दुई वटा पार्टी जसरी दुई फ्याक भएर फुट्दैन। तीव्र ध्रुवीकरण हुन्छ। नयाँ ध्रुवीकरण, नयाँ एकता र नयाँ सहकार्यमा पार्टी उठेको छ।

नेकपाको उद्देश्य समाजवादी बाटोमा जाने हो। पार्टी एकता गर्दा नेकपारुपी जेट समाजवादतिरको यात्रामा जान्छ भनेका थियौं तर, पार्टीले समाजवादतर्फ उडान भरिरहेको छैन।

समाजवाद भनेर यो त हुल्लडबाजीतिर अगाडि बढिरहेको छ। त्यसैले समाजवादको भ्रम दिएर अन्तै यात्रा मोड्ने पाइलटलाई हटाइन्छ। त्यसपछि समाजवादतिरै यात्रा गर्ने यात्री र पाइलट तयार गर्ने हो।

मेरो उदारतालाई उहाँले कमजोरी ठान्नुभयो। पार्टी एकताको सहमतिअनुरुप दुई वटै अध्यक्षको समान हैसियत हुन्छ भनिएपनि मैले उहाँलाई एक नम्बर अध्यक्ष मानिदिएँ। त्यहाँ मेरो कमजोरी भयो। पार्टीको बैठक संयुक्त रुपमा आलोपालो गर्ने भनिएको थियो, त्यो पनि मैले छाडिदिएँ।

आलोपालो सरकार चलाउने भन्ने सहमतिबाट पनि देशको स्थिरताको लागि भनेर म पछि हटेँ। एकता बचाउन खोज्दा, सहज बनाउँदा पनि आफ्नै ढंगबाट षडयन्त्र, जालझेल, धोकाधडी बेइमानी गर्ने काम भयो। समग्र राजनीतिक, वैचारिक रुपमै बेइमानी गर्ने यो प्रवृत्ति कुनैपनि मूल्यमा कम्युनिस्ट आचरण–शैली अनुसार छैन, यो सत्य र असत्यको लडाइँ जस्तो हो।

यति गरेर ओलीलाई सहयोग गर्दा पनि एकलौटी रुपमा, अरु नेतालाई गालीगलौज गर्दै पार्टीलाई एउटा कोठाभित्र चलाउन खोज्नुभयो। यसले नेकपाको भविष्य संकटमा परेको छ। यसलाई करेक्सन गराउने प्रयासले बैठक बोलाइएको हो।

विगतमा सम्झौताको कार्यान्वयनभन्दा धोकाधडी र बेइमानी भएको हुनाले अब ओलीका लागि अरु विकल्प बाँकी छैनन्।

नेकपा संकटमा छः नेपाल
वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टी संकटमा परेको बताएका छन्। उनले पार्टीभित्र जस्तोसुकै अवस्था आइपरे पनि अब सामना गरेर अघि बढ्ने बताए।

‘हिजोको जस्तो अवस्था अब छैन, सिन प्रस्ट देखिएको छ,’ कोटेश्वरस्थित निवासमा कार्यकर्ताहरुसँग नेता नेपालले भने, ‘नेतृत्वको कारण संकटमा परेको नेकपालाई जोगाउनुछ।’

भदौ २६ गते गरेको स्थायी समिति बैठकको निर्णयविपरीत प्रधानमन्त्री ओलीले एकलौटी गरेकाले संकट चुलिएको उनको भनाइ थियो।

पार्टीभित्र सल्लाह नगरी बेलायत र अमेरिकाका लागि राजदूत नियुक्ति, अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्तिमा एकलौटी, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा दलका प्रमुख नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीको भेटजस्ता विषय नेकपामा विवादित छन्।

प्रचण्ड–नेपाल समूहको लामो प्रयासपछि शुक्रबार सचिवालयको बैठक बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .