चीनसँग विवाद जारी रहँदा सोमबार मात्र अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र रक्षामन्त्री मार्क एस्पर भारत भ्रमणका लागि आएका छन्।
सो क्रममा मंगलबार अमेरिकी रक्षा र विदेशमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग छलफल गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
हाल भारत र चीनबीच सीमा विवाद जारी छ भने अमेरिका र चीनबीच प्रविधि, कोरोना महामारी, व्यापार, दक्षिण चीन सागर लगायतका विभिन्न विषयमा विवाद छ।
त्यसकारण चीनसँग रुष्ट बनेको भारत र अमेरिकी मन्त्रीहरुको छलफललाई निकै चासोका साथ हेरिएको छ।
पोम्पिओले यसअघि भारतमा चिनियाँ खतरा र कोरोना भाइरस महामारीको विषयमा छलफल हुने बताएका थिए।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालका अनुसार मंगलबार दुवै देशका मन्त्रीहरुबीचको छलफल उपलब्धिमूलक भएको छ।
उनले भनेका छन्,‘दुबै पक्षले सुरक्षित, स्थिर र नियममा आधारित क्षेत्रीय र विश्वव्यापी सुरक्षा वातावरण सुनिश्चित गर्न साझा उद्देश्यहरु अगाडि बढाउनु पर्ने र सबै क्षेत्रहरुमा क्षमता निर्माण गर्ने विषयमा कुराकानी गरेका छन्।’
अमेरिकी रक्षामन्त्री मार्क एस्परले मंगलबार भारतका मन्त्रीहरुसँग पछिल्लो सयम भारतसँग क्षेत्रीय सुरक्षा र सूचनाको साझेदारीलाई सुदृढ गर्दै लगेको बताउँदै भने,‘भारत र अमेरिकाको सहकार्यले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकमा आइपर्ने चुनौतीको सामना गर्नेछ।’
सो क्रममा विश्वका दुई ठूला लोकतान्त्रिक मूलुक भारत र अमेरिका झनै नजिक हुनुपर्नेमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जोड दिएका छन्।
उनले चिनियाँ कम्युनिष्ट पार्टीले विश्वमा सिर्जना गरेको डर र त्रासविरुद्ध आफूहरु एक हुनुपर्ने र शान्ति र स्थायित्व सुनिश्चित गरिनुपर्ने बताए।
Shares
प्रतिक्रिया