ad ad

राजनीति


सभामुख सापकोटा र साइप्रसका समकक्षीबीच टेलिफोन वार्ता

सभामुख सापकोटा र साइप्रसका समकक्षीबीच टेलिफोन वार्ता

नेपालखबर
असोज २२, २०७७ बिहिबार १२:५१,

नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० वर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसबीच शुभकामना आदान प्रदान भएको छ।

उनीहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं वर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताए।

उनले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गरे। सभामुख सापकोटाले साइप्रसमा १० हजार बढी नेपाली कामदारहरु पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यबस्थापनमा सहज हुने धारणा राखे।

उनले साइप्रसले नेपाली विद्यार्थीहरुलाई अध्ययनको अवसर सिर्जना गरेको र कोभिड–१९ का बेला साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गरे।

सम्वादका क्रममा सभामुख सापकोटाले नेपालको संघीय संसद र साइप्रसको संसदबीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राखेका थिए। उनले विश्व समुदाय कोभिड–१९ महाव्याधिको चुनौतीसँग लडिरहेको उल्लेख गर्दै यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताए। सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गरे।

सम्वादका क्रममा साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गरे।

उनले काम र अध्ययनका सिलसिलामा १० हजार बढिी नेपाली साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिक पत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष सिलौरिसले संसदीय मैत्री समुह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .