ad ad

राजनीति


देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह

देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह

नेपालखबर
भदौ २०, २०७७ शनिबार ८:४३,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गरेका छन्। उनले देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिए।

अनलाइन माध्यमबाट शनिबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कांग्रेस, कम्युनिष्ट, गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे।

‘कांग्रेस/कम्युनिस्टका नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौँ’, मन्त्री ज्ञवालीले भने, ‘तपाईँहरुले (गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुप¥यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरंगित हुनुप¥यो। तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस्।’

उनले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानीमात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताए। फरक प्रसंगमा मन्त्री ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि प्राप्त जनादेशअनुसार नै अगाडि बढिरहेको उल्लेख गर्दै उपलब्धिसमेत हासिल भइरहेको आर्थिक सूचकहरुबाट देखिएको जनाए।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री ज्ञवालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको अवस्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिए।

‘व्यवस्थामात्रै लोकतान्त्रिक भएर नहुँदोरहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ’, मन्त्री ज्ञवालीले भने, ‘यो क्रम भइरहेको छ। यसले समय लिन्छ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन।’

पछिल्लो समय कोरोनाको महामारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट असर पुगेको बताउँदै मन्त्री ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले काम गरिरहेको उल्लेख गरे। अर्को प्रसंगमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानून निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने जानकारी गराए।

नेपाली कांग्रेसका प्रमुख सचेतक पूर्वमन्त्री बालकृष्ण खाँणले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देशबाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको बताए। उनले एक पटकको नेपाली सधैँको नेपाली भन्ने पक्षमा कांग्रेस रहेको उल्लेख गर्र्दै अब कुनै पनि योजना तर्जुमा गर्दा केवल देश भित्रका नेपालीलाई मात्र हेरेर नभई समग्र नेपालीलाई हेर्नुपर्नेमा जोड दिए। देशबाहिर रहेका नेपाली एक प्रकारले देशका निम्ति सद्भावनादूत जस्तै रहेको बताउँदै पूर्वमन्त्री खाँणले नेपालको विकास र समृद्धिका लागि एनआरएनको भूमिका र योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

यस्तै, नेकपाका स्थायी समिति सदस्य पूर्वमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीको समस्या समाधानमा आफूहरु गम्भीर रहेको बताए। उनले संसद्को राज्य व्यवस्था समितिबाट पारित विधेयकले समेत धेरै कुराहरुको सुनिश्चितता गरेको बताउँदै संसद्को पूर्ण बैठकमा समेत त्यसमा थप छलफल गरी समेट्नुपर्ने विषयलाई कानूनमा समेत समेटेर जान सकिनेमा जोड दिए।

एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षता, आईसीसी सदस्य प्रमोद सिटौला र डोल्मा शेर्पाको सहजीकरणमा भएको उद्घाटन कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्त, महिला नेत्री अञ्जनी श्रेष्ठ, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीले सकारात्मक ढङ्गबाट सहयोगीको भूमिका निभाउनुपर्नेमा जोड दिएका थिए। रासस

तीन दिनसम्म चल्ने सम्मेलनका क्रममा विभिन्न विषयमाथि अन्तरक्रियात्मक कार्यशालाहरु सञ्चालन हुनेछन् । सम्मेलनबाट टोरोन्टो घोषणापत्र जारी गर्दै सो घोषणापत्र एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन् । एनआरएनए आइसिसीले विभिन्न क्षेत्रमा क्षेत्रीय बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनको आयोजना गरेपश्चात् अक्टुबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .