ad ad

राजनीति


मलको अभाव अन्त्य गर्ने विषयमा डा. भट्टराईका चार सुझाब, कृषिमन्त्री भुसालले दिए यस्तो प्रतिक्रिया

मलको अभाव अन्त्य गर्ने विषयमा डा. भट्टराईका चार सुझाब, कृषिमन्त्री भुसालले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
भदौ १७, २०७७ बुधबार ४:५,

कृषिमन्त्री घनश्याम भुसालले आफू मन्त्रालयमा आएपछि नेपालमा रासायनिक मलको कारखाना खोल्नेबारे चासो राखेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालमा रासायनिक मलको अभाव अन्त्यका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएका चारबुँदे सुझाबमाथि प्रतिक्रिया दिँदै मन्त्री भुसालले यसबारे अध्ययन भइरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले हरेक वर्ष हुने मलको हाहाकार अन्त्य गर्नका लागि भारत, बंगलादेश र चीनसँग संयुक्त लगानीमा नेपालमै कारखाना खोल्न सुझाब दिएका छन्।
उनले मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गर्न, तेलमा झैं मलमा पनि भारतसँग द्विपक्षीय सम्झौता गरेर आयात गर्न र देशभित्रै प्रांगारिक मल प्रवर्धन गर्न समेत प्रस्ताव गरेका छन्।

‘प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न यसो गरौं– १. भारत, बंगलादेश र चीनसँग संयुक्त लगानीमा नेपालमै कारखाना खोलौं, २. मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गरौं, ३. तेलमा झैं मलमा पनि भारतसँग द्विपक्षीय सम्झौता गरेर आयात गरौं, ४. देशभित्रै प्रांगारिक मल प्रवर्धन गरौं’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

भट्टराईको यस प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गर्दै मन्त्री भुसालले मल कारखानाका लागि आवश्यक प्राकृतिक ग्यासको पाइप नेपालको सबैभन्दा नजिक भारतको गोरखपुर आउन अझै करिब दुई वर्ष लाग्ने र त्यो पाइप नेपाल ल्याएपछि मात्रै मल कारखाना सम्भव हुन सक्ने प्रतिक्रिया दिएका छन्।

उनले खाडी मुलुकबाट सिधै आयात गर्ने, भारतसँग द्विपक्षीय सम्झौता गर्ने र नेपालमै प्रांगारिक मल प्रवर्धन गर्ने प्रस्तावबारे आफूले प्रयास गरिरहेको प्रतिक्रिया दिएका छन्।

धानखेतीको समयमा नेपालमा हरेक वर्ष मलको अभाव हुने गर्दछ। यसवर्ष पनि किसाले धानले बाला लगाउने बेलासम्म पनि मल पाएका छैनन्। मलकै विषयलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोनमा कुराकानी समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .