ad ad

राजनीति


उपत्यकाका मेयरहरु भन्छन्: सरकारले दिर्घकालीन सोच अनुसार निर्णय नगर्दा समस्या (भिडियो)

उपत्यकाका मेयरहरु भन्छन्: सरकारले दिर्घकालीन सोच अनुसार निर्णय नगर्दा समस्या (भिडियो)

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार १२:५,

काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरीले कोरोना रोकथामका लागि सरकारले पटकपटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या आएको बताएका छन्।

काठमाडौं उपत्यकामा प्रवेश गर्ने मुख्य नाका (नागढुंगा) यही नगरपालिकामा रहेको र सरकारले काठमाडौं प्रवेश गर्ने सम्बन्धमा पटपपटक नियम परिवर्तन गर्दा कार्यान्वयनमा समस्या आएको गिरीले बताए।

मेयर गिरीले सरकारले उपत्यका प्रवेश गर्न दिने सम्बन्धमा पटकपटक नियम परिवर्तन गर्ने र तत्कालै कार्यान्वयन गर्न निर्देशन दिँदा समस्या आएको बताएका हुन्। उनले सरकारका निर्णयबाट उपत्यका प्रवेश गर्ने नाकामा नागरिकहरुले धेरै दुःख पाउने गरेको समेत बताए। नाकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको व्यवस्थापन उचित ढंगले नहुँदापनि आदेशहरुको कार्यान्वयनमा चुनौति देखापरेको उनले बताए।

काठमाडौं उपत्यकालाई सुरक्षित गर्न पनि नाकामा खटिने कर्मचारीहरुको व्यवस्थापनामा संघीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ। सरकारले दिर्घकालीन सोच अनुसार निर्णय नगर्ने र विभिन्न समयमा गरिएका निर्णयहरुमा फरक पर्ने भएकाले नाकाको व्यवस्थापनमा कठिनाई देखिएको उनले बताए।

यस्तै सरकारले सही सूचना समेत प्रवाह गर्न नसकेको उनले बताए। कुनैपनि टोलमा संक्रमण पुष्टि भयो भने त्रास फैलने गरी सूचना प्रवाह गर्दा नगरपालिकालाई व्यवस्थापनामा कठिनाई हुने गरेको गिरीले बताए।

उनले अहिले उपत्यकामा निषेधाज्ञा जारी गरिएको तर त्यसपछि के गर्ने भन्ने निर्णय सरकारले गर्न नसकेको बताए। दिर्घकालिन रुपमा कोरोनाको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले अहिले नै निर्णय गरी सोही अनुसार स्थानीय तहलाई व्यवस्थापन गर्ने कार्यमा सघाउनुपर्ने उनले बताए।

यस्तै, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले प्रदेश र संघीय सरकारबाट आउने आर्थिक सहयोगमा ढिलाई हुँदा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकिएको बताए। काठमाडौं उपत्यकामा प्रवेश गर्ने प्रमुख नाकाहरु मध्येको अर्को मुख्य नाका (साँगा भञ्ज्याङ) सूर्यविनायक नगरपालिकामा रहेको छ।

तर संघीय र प्रदेश सरकारबाट पर्याप्त सहयोग नहुँदा नाकाको व्यवस्थापनमा कमजोरी भएको उनको भनाई छ। अहिलेसम्म प्रदेश सरकारले उपलब्ध गराएको १२ लाख रुपैयाँ र केही स्वास्थ्य सामग्री बाहेक थप सहयोग प्राप्त नभएको पनि थापाले बताए। संघीय र प्रदेश सरकारबाट उचित बजेट प्राप्त नभएपछि नगरपालिकाले विकास निर्माणका काम अर्को वर्षलाई राखेर भएपनि बजेटको व्यवस्थापन गरेको उनले बताए।

भक्तपुर जिल्लाका चारवटै नगरपालिकाले संयुक्तरुपमा लगानी गरेर खरिपाटीमा आइसोलेसन केन्द्र र सचेतना जगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए।

काठमाडौं उपत्यकामा लकडाउन खोलिएपछि संक्रमण रहेका जिल्लाबाट मानिसहरु आउन दिँदा उपत्यकामा संक्रमणको जोखिम बढेको उनले बताए। पछिल्लो केही दिन भने सूर्यविनायक नगरपालिकामा पर्ने साँगा भञ्ज्याङ र अमरलोक भञ्ज्याङमा रहेको नाकामा कडाई गरिएको पनि थापाले बताए।

उनले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गर्न र अति आवस्यक कामका लागि बाहेक घर बाहिर ननिस्कन पनि नगरबासिलाई अपील गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .