ad ad

राजनीति


पार्टी एकता अझ माथिल्लो स्तरमा सुदृढ गर्नुपर्छः प्रचण्ड

पार्टी एकता अझ माथिल्लो स्तरमा सुदृढ गर्नुपर्छः प्रचण्ड

नेपालखबर
साउन १७, २०७७ शनिबार ५:४,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्ने बताएका छन्।

नेकपाका पुराना नेता तुल्सीलाल अमात्यको स्मृति सभालाई सम्बोधन गर्दै शनिबार बिहान ललितपुरमा अध्यक्ष प्रचण्डले भने, ‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं।’

प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो एक महिनादेखि सत्तारुढ नेकपाभित्रको टकराव उत्कर्षमा पुगेको छ।

स्थायी समिति बैठकसमेत पटक पटक स्थगित गर्दै आएका नेताहरू सहमति खोज्ने अन्तिम कसरत गरिरहेका बेला प्रचण्डले एकतामै जोड दिएका हुन्।

‘बाहिर प्रचार गरिएजस्तो नेकपाभित्रको अहिलेको बहस पदको छिनाझपटी बिल्कुलै होइन। यो बहस पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने हो’, प्रचण्डले भने, ‘राजनीतिक स्थिरता र एकताका निम्ति हामीले पद त्याग गर्दै नै आएका छौं। अहिले पार्टी एकताको रक्षा गर्दै यसलाई कसरी राम्रोसँग अगाडि बढाउने भन्ने हिसावले हाम्रो बहस अगाडि बढेको छ।’

नेपालमा दशकौंदेखि बोलचाल नभएका कम्युनिस्ट समूहहरू दश दिनभित्र नै एकै ठाउँ बस्ने अवस्था आएको भन्दै त्यो एकताले ठूलो राजनीतिक छलाङ ल्याएको प्रचण्डले बताए।

‘त्यो एकताले गर्दा नै हामी अत्याधिक बहुमत सहित सरकारको नेतृत्व गर्ने ठाउँमा आइपुग्यौं, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपाल एउटा मोडल बनेको छ’, प्रचण्डले थपे।

एकता गरेको तीन वर्ष पुग्दा नपुग्दै फेरि पार्टी र जनताको भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको बताउँदै प्रचण्डले अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको स्वीकार गरे।

‘हामी कम्युनिस्ट जालझेल, छलकपट अपनाउन सक्दैनौं, त्यसैले हाम्रो संघर्ष तिखो हुन्छ’, प्रचण्डले भने, ‘एकता बचाउने क्रममा विभिन्न एजेण्डा र प्रवृतिको फछ्र्योट पनि हुनुपर्छ।’

तुल्सीलालको स्मरण गर्दै उनले पुराना पिँढीका नेताहरू जालसाजीभन्दा पनि आफ्ना कुरा सिधा सिधा राख्ने नेता भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .