ad ad

राजनीति


कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरण

कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरण

नेपालखबर
साउन ४, २०७७ आइतबार १०:२७,

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक प्रक्रिया अघि बढाएको छ। महाधिवेशनको तालिकानुसार राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ।

हालसम्म ६७ जिल्लामा समायोजन सम्पन्न भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए। समायोजन हुन बाँकी जिल्लामा समायोजनका लागि समयावधि थपिने कुनै सम्भावना नरहेको उनले स्पष्ट गरे।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असार २२ गतेको बैठकले १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै यही साउन १० गतेभित्र समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने मिति निर्धारण गरेको थियो। सो बैठकले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित महाधिवेशनको मिति कायम राख्दै समायोजन, कियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो। पछिल्लो तालिकानुसार गत असार २५ गतेदेखि यही साउनसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने समय तोकिएको छ।

यसैगरी केन्द्रीय कार्यालयबाट हालसम्म ५५ जिल्लाले क्रियाशील सदस्यता फाराम लगिसकेको र बाँकी जिल्लामा पनि निर्धारित मितिमै पुग्ने गरी काम भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेस संगठनमा सबैभन्दा महत्वपूर्ण सदस्यताका रुपमा लिइने क्रियाशील सदस्य हाल चार लाख ७० हजार छन्।

विसं २०७४ को आमनिर्वाचनमा कांग्रेसमा समायोजन भएको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका थप २६ हजार क्रियाशील सदस्यलाई मान्यता दिने सहमति भएको थियो। कांग्रेसले अन्य पार्टीबाट प्रवेश गरेका सदस्य र संगठन सुदृढिकरणलाई मध्येनजर गरी आगामी महाधिवेशनमा हाल कायम क्रियाशील सदस्यको करिब ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले बताए।

तालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि आगामी मङ्सिर २५ गते र केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मङ्सिर मसान्तभित्र तोकिएको छ।

कांग्रेसले गाउँनगर वडा अधिवेशन आगामी पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते निर्धारण गरेको छ।

कांग्रेसले यसअघि सार्वजनिक गरेको महाधिवेशन तालिकानुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य निर्धारण गरिएको भए पनि कोरोना भाइरस सङ्क्रमणका कारण स्थगन गर्नुपरेको थियो। कांग्रेसमा केहीले अझै पनि कोरोनाका कारण निर्धारित मितिमै महाविधेशन हुनेमा आशंका व्यक्त गर्ने गरेका छन्। पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र कोरानाको प्रभाव पनि कमजोर बन्दै गएकाले निर्धारित मितिमै महाधिवेशन हुने विश्वास दिलाए।

कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो। पार्टी विधानमा सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने र असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था छ। सोही व्यवस्थानुसार कांग्रेसले गत पुस ११ गते पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .