ad ad

राजनीति


नेकपाका २० स्थायी समिति सदस्यको मागः शुक्रबारको बैठक स्थगित नहोस्

नेकपाका २० स्थायी समिति सदस्यको मागः शुक्रबारको बैठक स्थगित नहोस्

नेपालखबर
असार ३१, २०७७ बुधबार १५:२९,

नेकपा स्थायी समितिका २० सदस्यले पार्टीभित्र देखिएको समस्या समाधानका लागि शुक्रबार बैठक राख्न माग गरेका छन्।

यसअघि वैशाखमा पनि यिनै २० सदस्यले स्थायी समिति बैठक माग गरेका थिए।

नेकपाको स्थायी कमिटीको बैठक असार २० गतेबाट निरन्तर रुपमा स्थगित हुँदै आएको छ।

त्यस यता दुवै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निरन्तर रुपमा छलफल हुँदै आएपनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भएको भेलाले सहमतिको नाममा निरन्तर रुपमा बैठक स्थगित गर्न नहुने तथा बैठकमा विधि र प्रक्रियाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको हो।

‘साथीहरुबीच अनौपचारिक रुपमा छलफल भएको थियो। बैठकलाई निरन्तर रुपमा स्थगित गर्नु हुँदैन। अहिलेको समस्याको निकास बैठकबाट पार्टीको सिद्धान्त, विधि र प्रक्रियाबाट खोज्नुपर्ने निष्कर्ष रह्यो,’ स्थायी कमिटीका सदस्य भीम रावलले नेपालखबरसँग भने, ‘बाढी र पहिरोको कारण भनेर बैठक स्थगित गरियो। तर अब शुक्रबार हुने बैठकलाई स्थगित गरिनु हुन्न भन्ने सबै साथीहरुको जोड रह्यो।’

भेलामा बैठक माग गर्दै हस्ताक्षर गर्ने २० जनामध्ये १७ जनाको उपस्थिति थियो। उपत्यकाबाहिर रहेका सुरेन्द्र पाण्डे, भीम आचार्य उपस्थिति थिएनन्।

‘चक्रपाणि खनालजीको फोन लागेन र सम्पर्क हुन सकेन। त्यसबाहेक हामी सबै उपस्थित थियौं,’ एक स्थायी कमिटीका सदस्यले भने।

गत वैशाख १० मा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, भीमप्रसाद आचार्य, चक्रपाणि खनाल र हरिबोलप्रसाद गजुरेलले पार्टी र सरकारमा देखिएको समस्याको बारेमा छलफल गर्न बैठक माग गरेका थिए।

रावलले एकतालाई पनि कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भएको बताए।

‘अहिलेको देश र पार्टीभित्रको अवस्थाको विषयमा समेत छलफल भएको छ,’ रावलले भने।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटीका बैठकमा पछिल्लो समय केपी शर्मा ओलीले पार्टी र सरकार चलाउन नसकेको भन्दै उनले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिएको छ। तर, ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा नदिने अडान राख्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .