ad ad

राजनीति


प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील विषयमा असंवेदनशील व्यवहार: कांग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील विषयमा असंवेदनशील व्यवहार: कांग्रेस

नेपालखबर
असार ३१, २०७७ बुधबार १०:२७,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको जनाएको छ।

बुधबार विज्ञप्ति प्रकाशित गरी कांग्रेसले प्रधानमन्त्रीले संवेदनशील विषयमा असंवेदनशील व्यवहार प्रस्तुत गरेको जनाएको छ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम र अयोध्याबारे दिएको अभिव्यक्ति नेपाल र भारतमासमेत विवादित बनेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असंवेदनशील व्यवहारका कारण प्रधानमन्त्रीले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको थप पुष्टि हुने बताएका छन्।

‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ’ कांग्रेसले प्रश्न गरेको छ, ‘देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी?’

प्रवक्ता शर्माले सरकारलाई देशको तात्कालिक समस्याबारे चार बुँदे ध्यानाकर्षणसमेत गराएका छन्।

कांग्रेसले बाढी–पहिरोमा कयौंको मृत्युु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ? भनि प्रश्न पनि गरेको छ।

यस्तै, कांग्रेसको प्रश्न छ, ‘कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ कैयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहिखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने?’

कांग्रेसले सर्वसम्मतीले नक्सा पारित भएपछि कूटनीतिक माध्यमबाट जमिनमाथिको हक स्थापना गर्नुपर्ने बेलामा प्रधानमन्त्रीले अपरिपक्व टिप्पणी गरेको भन्दै आलोचना गरेको छ।

‘सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ? गम्भीर कुटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गर्ने?’ कांग्रेसले भनेको छ, ‘नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ बिषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न् भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणी मार्फत उहाँले संवेदनशील बिषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गर्नु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .