ad ad

राजनीति


एक महिनाको घरभाडा नलिन सरकारको आग्रह

एक महिनाको घरभाडा नलिन सरकारको आग्रह

नेपालखबर
चैत १६, २०७६ आइतबार १७:२,

सरकारले कोरोना (कोभिड–१९) का कारण सिर्जित आपतकाल अवधिमा शिक्षा, स्वास्थ्य तथा घरबहाल लगायतका विषयमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ।

मन्त्रिपरिषदको बैठकपछि अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन्।

उनले असंगठित क्षेत्रमा कार्यरत शहरी क्षेत्रका कामदारका लागि एक महिनाको घरभाडा मिनाहा गर्न सरकारले आग्रह गर्ने जानकारी दिए।

‘यसरी मिनाहा गरिएको घरभाडामा घरवहाल कर नलिने व्यवस्था गर्ने निर्णय भएको छ,’ खतिवडाले भने।

सरकारले निजी विद्यालयले आवास शुल्कबाहेक अन्य सबै शुल्क छुट दिने व्यवस्था मिलाउने भनेको छ।

सरकारले निजीक्षेत्रका स्वास्थ्य संस्थाहरुलाई समेत चैत मसान्तसम्म सबै उपचार सेवामा २५ प्रतिशत शुल्क छुट दिन निर्देशन दिएको छ।

त्यसैगरी कोरोना उपचारका लागि आवश्यक हुने उपकरणको तथा पीपीई, स्यानिइटाजर तथा पञ्जालगायत सामान र क्षमता विस्तारका लागि सरकारले स्वास्थ्य मन्त्रालयलाई थप बजेट दिने निर्णय गरेको छ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई खाना खर्च संघीय र स्थानीय सरकारले व्यहोर्ने गरी मिलाउने जानकारी खतिवडाले दिए।

त्यसैगरी कोरोना संक्रमितको उपचारमा संलग्न व्यक्तिहरुको निशुल्क वीमा र क्षतिपूर्तिको व्यवस्था र सुरक्षाको उपकरण दिने निर्णय गरेको छ।
क्राइसिस म्यानेजमेन्ट ग्रुप गठन
मन्त्रिपरिषद्को सोहि बैठकले कोरोना नियन्त्रण क्राइसिस म्यानेजमेन्ट ग्रुप गठन गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सो समितिमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थमन्त्री भानुभक्त ढकाल, आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री युवराज खतिवडा र संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी छन।

त्यसैगरी सबै सुरक्षा निकायमा प्रमुख सो समूहमा रहने छन, जसले शान्ति सुरक्षा कायम गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्ने र सरकारले गरेको निर्णय कार्यान्वयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .