प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालका भेला, सम्मेलनहरु स्थगित गरेको छ। कोरोना भाइरसको त्रासका कारण कांग्रेसले तत्कालका लागि भेला, सम्मेलनहरु स्थगित गरी गाउँसम्म सतर्कता अभियान सञ्चालन गर्ने जनाएको छ।
बुधबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी भनेका छन् ‘विश्व स्वास्थ संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने भएको छ।’
सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रुपले लिएर सरकारलाई खबरदारी गर्ने र सहयोग पनि गर्ने कांग्रेसले जनाएको छ।
यस्तै, कांग्रेसले त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा तत्काल भरपर्दो स्वास्थ्य जाँचको केन्द्र स्थापना गर्न सरकारलाई पुनः अपील पनि गरेको छ। यसअघि कांग्रेसले कोरोनाबाट सतर्कत अपनाउन १४ बुँदे अपील जारी गरेको थियो।
कोरोना भाइरस संक्रमण फैलने जोखिम बढेको भन्दै सरकारले धेरै मानिस जमघट हुने सबै कार्यक्रमहरु स्थगित गरेको छ भने दल तथा संघसंस्थाहरुले पनि आफ्ना पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन्।
सत्तारुढ नेकपाले पनि प्रदेशस्तरमा सञ्चालन गर्न लागेको प्रशिक्षणका कार्यक्रम स्थगित गर्न लागेको जनाएको छ।
Shares
प्रतिक्रिया