सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम स्थगित गरेको छ।
नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सरकारले ठूला भेला, सभा–सम्मेलन, जमघट नगर्न आग्रह गरेका कारण नेकपाले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स्थगित गरेको हो। नेकपाले मंगलबार झापा विर्तामोडमा प्रदेश १ को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तय गरेको थियो। भेलामा शीर्ष ने्ताहरुले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम थियो। भेलामा सहभागी हुन प्रदेश १ का विभिन्न जिल्लाबाट कार्यकर्ताहरु बिर्तामोड आइसकेपछि भेला स्थिगित भएको हो।
भेला र प्रशिक्षण भनेपछि ठूलो मात्रामा कार्यकर्ताको जमघट हुने र त्यसले कोरोनाको संक्रमण फैलाउन सक्ने भन्दै भेला स्थगित गरेको नेकपाका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।
‘कोरोनाको संक्रमण फैलन नदिन र सतर्क रहनका लागि प्रशिक्षण कार्यक्रम स्थगित गरेका हो’, नेपालखबरसँग कुरा गर्दै रिजालले भने। उनले प्रशिक्षणको अर्को मिति भने तय नभएको बताए।
प्रतिक्रिया