ad ad

राजनीति


प्रस्तावित १८ राजदूतको सूची संसदीय समितिमा पुग्यो, शंकर शर्माको पनि सुनुवाइ हुने

प्रस्तावित १८ राजदूतको सूची संसदीय समितिमा पुग्यो, शंकर शर्माको पनि सुनुवाइ हुने

नेपालखबर
साउन २७, २०८१ आइतबार १३:१६, काठमाडौँ

सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेको छ। 

सरकारले गरेको सिफारिस आइतबार समितिमा आइपुगेको सुनुवाइ समितिकी उपसचिव सिर्जना बरालले नेपालखबरलाई जानकारी दिइन्। उनका अनुसार भारतका लागि पुनः सिफारिस भएका शंकर शर्माको नाम पनि सुनुवाइका लागि समितिमा पुगेको छ। 

सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्।

त्यस्तै भारतका लागि शंकर शर्मा नै सिफारिस भएका छन्। राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि यो सरकारले पुनः सिफारिस गरेको हो। 

यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिसमा भएका छन्। चीनका लागि कृष्णप्रसाद ओली, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना र साउदी अरबमा नरेशविक्रम ढकाल सिफारिस भएका छन्।

त्यसैगरी इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिल श्रेष्ठ, जर्मनीमा डा. शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल र स्पेनमा सनिल नेपाल सिफारिस भएका छन्।

श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानमा परराष्ट्रकै सहसचिव रिता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर र रुसमा जंगब चौहान राजदूत सिफारिस भएका छन्।

संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .