प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
मंगलबार नेपाल ट्रस्टको कार्यालयले जारी गरेको श्वेतपत्रमा देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले पनि ट्रस्टको जग्गासम्बन्धी निर्णय गरेको उल्लेख थियो। ताहाचलको जग्गा यती समूहलाई लिजमा दिने निर्णय देउवाको पालामा भएको श्वेतपत्रले जनाएको थियो।
तर, बुधबार तीन बुँदे वक्तव्य जारी गर्दै देउवाले आफ्नो सहभागितामा कुनै पनि निर्णय नगरेको दाबी गरेका छन्।
‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन,’ देउवाले भनेका छन्, ‘मेरो सहभागिता नभएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’
उनले ७० करोडको कमिसनकाण्ड ढाकछोप गर्न यस्तो प्रचार गरिएको हुनसक्ने आरोप पनि लगाएका छन्।
प्रतिक्रिया