ad ad

राजनीति


रास्वपाले तीन सदस्यीय कार्यदल बनाएर थाल्यो राजदूत छनोट प्रक्रिया

टीओआरसहितको कार्यविधि बनाएर विवादरहित नाम पठाउने तयारी
रास्वपाले तीन सदस्यीय कार्यदल बनाएर थाल्यो राजदूत छनोट प्रक्रिया

रास्वपा सांसद डा. स्वर्णिम वाग्ले, सोविता गौतम र शिशिर खनाल सदस्य रहेको कार्यदलले राजदूतको नाम सिफारिस गर्नेछ


नेपालखबर
असार ८, २०८१ शनिबार १५:७, काठमाडौँ

सरकारले शुक्रबार (असार ७) ८ वटा देशका लागि राजदूत सिफारिस गरेको छ। गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ३ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ। 

शुक्रबार सिफारिस भएका ८ राजदूत सत्तारुढ नेकपा एमाले (५), जनता समाजवादी पार्टी (जसपा) २ र नेकपा माओवादी केन्द्र (१) बाट छनोटमा परेका हुन्। 

राजदूतको नाम सिफारिस गर्ने शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू पनि सहभागी थिए। 

तर, रास्वपाले मन्त्रिपरिषद्‌मा आफ्नो कोटामा परेका दुई राजदूतको नाम दिएन। हतार-हतार पार्टीको दोस्रो वार्षिकोत्सवमा सहभागी भएर सिंहदरबार पुगेका रास्वपाका मन्त्रीहरूले नाम टुंगो लगाइसकेका थिएनन्। 

रास्वपाका एक सांसदले बताए अनुसार, कार्यविधि नै बनाएर विवादरहित व्यक्तिलाई राजदूत सिफारिस गर्ने पार्टीको तयारी छ। 

जसका लागि तीन सदस्यीय समिति समेत बनाइएको छ। रास्वपा सांसद डा. स्वर्णिम वाग्ले, सोविता गौतम र शिशिर खनाल सदस्य रहेको सो समितिले पार्टी शीर्ष नेतृत्वलाई नाम सिफारिस गर्ने र त्यसपछि सरकारसमक्ष नाम पठाउने तयारी रास्वपाको छ। 

सांसद अशोक कुमार चौधरी भन्छन्, ‘राजदूतजस्तो पदमा नाम सिफारिस गर्दा पार्टीमा सबैले छलफल गर्नु आवश्यक ठानेका छौँ। कम्तिमा विवादरहित, क्षमता र कौशलता प्रस्तुत गर्नसक्ने योग्य मान्छेलाई पठाउनेगरी छलफल चलिरहेको छ।’

त्यसका लागि राजदूत सिफारिस समितिले टीओआर (कार्यादेश) नै तयार पारेर काम गरिरहेको छ। 

आजै बेलुकीसम्म समितिका सदस्यहरू एक चरणमा छलफल जुट्ने बताइएको छ। ‘दिउँसो दुई जना माननीयहरू केही कार्यक्रममा हुनुहुन्छ, साँझसम्म समय मिलाएर एक चरण छलफल हुनसक्छ,’ रास्वपा स्रोतले भन्यो, ‘कार्यविधि नै बनाइएको छ, सकेसम्म भोलिसम्म केही नाम आउँछ।’

राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ।  

११ देश खाली भएकामध्ये अब कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। रास्वपाले यिनै तीनमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।

यसअघि कांग्रेसहितको गठबन्धनबाट सिफारिस भएकामध्ये भारत, बेलायत, स्पेन, डेनमार्क, अमेरिका, इजरायल, दक्षिण कोरिया, साउदी, कतार, मलेसिया, पोर्चुगल गरी ११ देशका राजदूत फिर्ता बोलाइएको थियो। 

जसमध्ये कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको कोटामा परेका राजदूत फिर्ता बोलाइएको थियो।

शुक्रबारको सिफारिसमा एमाले, जसपा र माओवादी केन्द्रबाट गरी ८ देशका लागि नामहरू सिफारिस गरिएको हो। 

एमालेको भागमा भारत, अमेरिका, दक्षिण कोरिया मलेसिया र डेनमार्क परेको छ।

भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र डेनमार्कका लागि सुम्निमा तुलाधरको नाम सिफारिस भएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट फुटेर अशोक राइले गठन गरेको जनता समाजवादी पार्टी (जसपा)बाट साउदी अरबमा अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार २ राजदूत सिफारिसमा परेका छन्।

बेलायतका लागि माओवादी केन्द्रको कोटामा डा. विजन पन्त सिफारिसमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .