ad ad

राजनीति


नेपाली कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छ : एमाले

नेपाली कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छ : एमाले

नेपालखबर
जेठ ५, २०८१ शनिबार १७:५७, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली काँग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्। 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसदमा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रश्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन्। 

‘नेपाली कांग्रेसले संसदमा गरिरहेको हर्कत हेर्नुहोस्। संसदमा सत्ता पक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने? त्यहाँ डिफाईन गरेको हुन्छ। आसन निर्धारण गरिएको हुन्छ। तर प्रमुख प्रतिपक्षका साथीहरुले वेल घेराउ गर्न जानुभएको छ, आपत्ति छैन। नारा लगाउनुभएको छ,’ बर्तौलाले भने, ‘हामीलाई आपत्ति छैन। यसमा गुनासो छैन। तर सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुतिहरु उहाँहरुबाट भइरहेको छ। यसले संसदीय इतिहासमा, संसदीय राजनीतिको इतिहासमा, संसदीय परम्परामा यो एउटा कालो दिनको रुपमा अस्तीको घटना रह्यो।’

शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसदमा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको टिप्पणी गरे।

‘श्रद्धेय अध्यक्षमाथि नेपाली काँग्रेसका एक जना नेता, जसलाई स्वर्गमा पुगेका पितृहरुले पनि निर्वाचनको बेलामा प्रकट भएर भोट दिएर पठाएर निर्वाचित गरेर पठाए, ती त्यस्ता व्यक्तिले संसदबाट, संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे,’ बर्तौलाले अघि भने, ‘यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद चलाउने होइन। भिडभाड, दादागिरी र उदण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तीको घटनाबाट देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .