सोमबारदेखि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेको बैठक समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए।
कांग्रेसले सोमबारसम्मको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले एमालेसँग थालेको सहकार्यपछिको विकसित परिस्थितिबारे निर्णय लिने छ।
यसअघि नै कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बूढानीलकण्ठमै बसेको बैठकले प्रतिपक्षमा बसेर संगठन विस्तारमा होमिने निर्णय लिएको थियो।
‘समयको माग थियो। समयको माग बमोजिम हामीले काँध थाप्यौँ। अहिले उहाँले आफैँ झार्नुभयो। हामीले गल्ती गर्यौँ जस्तो भएको लाग्दैन। सधैँ अरुलाई कसरी काँध थाप्ने? हामीलाई पनि चढ्न मन लाग्छ होला नि त’, उनले भने, ‘प्रतिपक्षीमा बसेर पनि संविधानको रक्षार्थ लागिरहेनेछौँ। हामीले अब उतापटि गएपछि संविधान जोगिन्छ त भनेर सोध्नुपर्ने भयो।’
उनले कारणहरू धेरै रहेका बताउँदै अहिलेलाई सरकारको समर्थन फिर्ता लिएको बताए। ‘धेरै कारण छन्, त्यतातिर नजाऔँ, अहिलेलाई हामीले दिएको समर्थन फिर्ता लियौँ,’ उनले भने।
उनले प्रचण्ड आफूहरूको काँधबाट एमालेको काँधमा चढेको पनि बताए।
‘भर्खरै प्रचण्डजी हाम्रो काँधबाट एमालेकोमा चढ्नुभएको छ। अहिले नै हामी काँधबाट झारेर हामी दुई मिलौँ भन्न मिल्दैन’, उनले भने, ‘त्यो नैतिकताले दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौँ। सत्ताको चलखेललाई केन्द्रमा नराखौँ भन्ने हाम्रो कुरा हो।’
कांग्रेसको यो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो।
यस्तै बैठकमा सोमबारदेखि मन्त्री पद गुमाएका १० जना नेताहरू पनि सहभागी थिए।
Shares
प्रतिक्रिया