ad ad

राजनीति


आरके शर्मा समूहले लोगो दुरुपयोग गरेको एनआरएनएको ठहर, कानुनी उपचार खोज्ने निर्णय

आरके शर्मा समूहले लोगो दुरुपयोग गरेको एनआरएनएको ठहर, कानुनी उपचार खोज्ने निर्णय

फाइल फाेटाे : एनआरएनए अध्यक्ष डा. बद्री केसी


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १०:५७, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचित समितिले आरके शर्मा नेतृत्वको समूहले संस्थाको छाप र लोगो दुरुपयोग गरेको ठहर गरेको छ। 

चुनाव हारेपछि समानान्तर समिति गठन गरी शर्मा नेतृत्वको समूहले आफूलाई नै आधिकारिक दाबी गरिरहेको छ। उक्त समूहले मूल संस्थाकै नाम, छाप, प्याड र लोगो प्रयोग गरिरहेको छ। उक्त कार्य कानुनविपरीत भएकाले उपचारका लागि अदालत जाने निर्णय गरिएको उपाध्यक्ष डा. हेमराज शर्माले नेपालखबरलाई जानकारी दिए। 

अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार बसेको संघको अन्तर्राष्ट्रिय परिषदको बैठकले यो निर्णय गरेको हो।

आरके शर्मा र उनको समूहले भूकम्पपीडितको सहयोगका लागि गरेको अपिल

गत असोज ३० देखि कात्तिक ३ सम्म काठमाडौंमा भएको संघको ११औँ महाधिवेशनले डा केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। 

तर अनलाइन मतदानमा धाँधली भएको आरोप लगाउँदै पराजित उम्मेदवार आरके शर्माले आफैँलाई अध्यक्ष घोषणा गरी समानान्तर समिति बनाएका थिए। उनलाई अध्यक्षमै पराजित अर्का उम्मेदवार महेशकुमार श्रेष्ठले पनि साथ दिएका छन्। 

बैठकले संघको ११औँ महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा उठेका प्रश्नहरूको निवारण गर्न अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। यसअघि संघको निर्वाचनमा अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेशकुमार श्रेष्ठलाई दुईपटकसम्म छानबिनका लागि पत्राचार गरिए पनि हालसम्म प्रतिनिधिहरूको नाम नदिएको हुँदा पुनः पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको महासचिव जोशीले बताए।

प्रवक्तामा पन्त
बैठकले संघको प्रवक्तामा फणीन्द्र पन्तलाई मनोनयन गरेको छ।

पन्तलाई आगामी दुई वर्षका लागि सो पदमा मनोनयन गर्ने निर्णय गरिएको महासचिव गौरीराज जोशीले जानकारी दिए। पन्तले यसअघि संघको कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए।

यस्तै, बैठकले संघका उपाध्यक्षहरूलाई विभागीय जिम्मेवारी पनि तोकेको छ। संघका अनुसार, १०० मिलियन तथा फ्लेक्सी परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रवीण गुरुङ तथा सोम सापकोटा तोकिएका छन्।

यस्तै आर्थिक विभाग प्रमुखमा सुदन थापा र सदस्य-सचिवमा सहकोषाध्यक्षहरू रहने भएका छन्। संघको परोपकार विभागमा उपाध्यक्ष डा. हेमराज शर्मा र सदस्य सचिवमा नवराज रोस्यारा तोकिएका छन्।

बैठकले नेपाल प्रवर्द्धन विभागको प्रमुखमा रवीन शेरचन, सदस्य सचिवमा भीम कमल केसी, वैदेशिक रोजगार विभागको प्रमुखमा राज रेग्मी, सदस्य-सचिवमा मनोज गोर्खाली, सामाजिक कल्याण विभाग प्रमुखमा रामशरण सिम्खडा, सदस्य-सचिवमा स्वतन्त्रप्रताप शाह, सीप तथा प्रविधि विभागीय प्रमुखमा डा. विनोद श्रेष्ठ, सदस्य-सचिवमा डा. ज्ञानेन्द्र रेग्मी, लगानी विभाग प्रमुखमा डा. केशव पौडेल, सदस्य-सचिवमा पारसमणि पोखरेल चयन भएका छन्।

महिला विभाग प्रमुखमा रोजिना राई, सदस्य-सचिवमा अनुजा प्रधान र युवा विभागको प्रमुखमा रोशन थापा तथा सदस्य-सचिवमा सुपेन्द्र घिसिङलाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .