ad ad

राजनीति


सह-महामन्त्रीमाथिको सांघातिक आक्रमणलाई थामथुम पार्न खोजियो : गगन थापा

सह-महामन्त्रीमाथिको सांघातिक आक्रमणलाई थामथुम पार्न खोजियो : गगन थापा

नेपालखबर
भदौ २१, २०८० बिहिबार १४:२३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोध गरेका छन्।

उनले सो सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए। बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री थापाले सो घटनाको सबै पक्षको अनुसन्धान गरी सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गरे। 

उनले के काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो? भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न समेत गरे। कोही जलाई दिन्छु भन्ने, कोही खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाडौंमा आफूहरू एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाममा आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो थियो।

उनले नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गरे।

यादवमाथिको खुकुरी प्रहारबारे के भने गगनले–
नेपाली कांग्रेस सहमहामन्त्री, संविधानसभा सदस्य महेन्द्र यादवमाथि हिजो मध्यान्ह काठमाडौंमा सांघातिक आक्रमण भएको छ। लगत्तै मैले चिकित्सकहरूलाई सम्पर्क गरेको थिएँ। चिकित्सकहरूको भनाइ अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ। उहाँले नछल्नु भएको भए जे पनि हुनसक्थ्यो। म उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ गर्नुपर्छ। तर एउटा सन्काले सनकेर हान्यो। म नेपाली कांग्रेसका तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।

यो विषयको गहिरो अनुसन्धान भएर योे घटना कसरी भयो, किन भयो? यसका सबै पक्षहरूको बारेमा राम्रोसँग अनुसन्धान होस्। र, योसँगै जोडिएका अरु सबै पक्षहरूको पनि। म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु– के हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो? कोही जलाई दिन्छु भन्छन कोही यस्तो गर्छन्। हामी एक्लै हिँड्न हुने हो कि होइन? म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँ बोलेको सुनेको छु। यसलाई छाडिने छैन, यस्तो गरिने छैन। म आग्रह पनि गर्न चाहन्छु–जिम्मा लिएको धेरै बोल्ने होइन, गर्ने हो। हामी परिणाममा हेर्न चाहन्छौं। हामीले परिणाममा देख्यौं भने त्यसको मूल्यांकन गर्ने संसद छ। नागरिक छ। आम जनता छन्। सञ्चार माध्याम छन्। काठमाडौंमा एउटा सांसद, संविधान सभाको सदस्य भएको व्यक्ति कार्यक्रममा सहभागी भएर आउँदैगर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई के कुरा पनि भन्नुपर्छ। हिजो मैले समाचारहरु पनि पढेँ सम्माननीय सभामुख महोदय। यो लेखिएको छ भने घटना हुनुभन्दा पहिलो महेन्द्र यादवले के बोले भनेर लेखिएको छ। त्यसको आशय के हो? महेन्द्र यादवले जे सुकै बोलेका हुन्। महेन्द्र यादवले कसैलाई मन नपर्ने बोले।

कसैलाई चित्त नबुझने कुरा बोले। कसैले पनि बोलेको कुरालाई लिएर सांघातिक आक्रमण गर्ने, खुकुरी प्रहार गर्ने जायज ठहर्न सक्छ? यदी हामी कुनै पनि ढंगबाट हिंसालाई जायज बनाउने कोशिस गरिरहेका छौ भने त्यो गलत छ। सम्माननीय सभामुख महोदय, म आग्रह गर्न चाहन्छु– यो संसद भित्र रहेका सबै राजनीतिक दलहरू, सञ्चार माध्याम, नागरिक, नागरिक समाज सबैले एक पटक मनन गर्ने बेला आएको छ कि यदी समाजमा असन्तुष्टि छ। तर यो असन्तुष्टिलाई देखाएर यदी हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, हिंसालाई प्रोत्साहन गर्ने घटना वा हिंसात्मक गतिविधिहरूलाई कुनै न कुनै मानेबाट प्रश्रय दिन हामीले खोज्यौं भने नेपाली समाजले ठूलो मूल्य चुकाउनु पर्छ। हामी धेरै संघर्ष र सकसबाट हिंसाबाट बाहिर निस्केका छौं। तर कता, कता असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दा पनि असन्तुष्टिलाई भजाएर अराजकता मच्चाउने खालको पहलकदमी भएको हामीले देखिरहेका छौं। महेन्द्र यादवमाथि आक्रमण भयो भन्नेकुरा मात्रै होइन यो। मान्छे म¥यो भन्ने कुरा होइन सभामुख महोदय, काल पल्क्यो भन्ने कुरा हो। त्यसैले यो घटनालाई सामान्य घटनाको रुपमा लिनुहुन्न। अराजकताले जसरी नेपाली समाजलाई गाँँज्न खोज्दैछ। कुनै न कुनै माध्यामबाट यसलाई वैद्य वा जायज ठहर्‍याउने कोशिस गरिरहेका छौं। यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ। यो बारेमा हामी सबै सचेत हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .