ad ad

राजनीति


हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी काम सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी काम सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
असार २५, २०८० सोमबार १५:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा प्रसन्नता व्यक्त गरे। उनले कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे।

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक थलोका रुपमा रहेको सङ्घीय संसद्को काम कारबाही भाडाको भवनमा सञ्चालन गर्नुपर्दा नमिठो अनुभव भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको नयाँ सरकार गठन भएपछि कामले गति लिएकामा संलग्न सबैलाई आभार व्यक्त गरे।

‘आधारभुत कामहरु सकिएको देखेँ मैले। अब झन्डै झन्डै फिनिसिङतिर जाने कामहरु र माथि छाना हाल्ने कामहरु नै मुख्य रुपमा बाँकी भएको देखियो,’ प्रधानमन्त्रीले भने, ‘अहिले समन्वयको आधारमा काम भइराखेको र यसलाई तिब्र गतिमा सम्पन्न गरेर सकेसम्म संसदको हिउँदे अधिवेशन यहीँ गर्न सकियोस्। मिसन भनेपनि टार्गेट भनेपनि त्यही।’

उनले कुनै समस्या उत्पन्न भएमा तीन दिनभित्रै समाधान गर्नेगरी सहरी विकासमन्त्री सीता गुरुङले आवश्यक प्रबन्ध गर्नुभएकामा धन्यवाद दिए। 

उनले कामको गति थप कसरी बढाउन सकिन्छ भन्नेबारेमा मन्त्री, सचिवलगायतका अधिकारी र निर्माण व्यवसायीलाई आवश्यक परामर्श गर्नसमेत निर्देशन दिए।

प्रधानमन्त्रीले सो अवसरमा निर्माणाधीन १२ वटै भवनको अवलोकन निरीक्षण गरेका थिए। आफूले यसअघि नै नेपाल औषधि लिमिटेड रहेको स्थानमा संसद् भवन बनाउने उद्देश्यले अवलोकन गरेकोसमेत स्मरण गरे। 

प्रधानमन्त्रीले हाल निर्माणाधीन भवन सुविधा सम्पन्न रहेको र यसले संसद्का काम कारबाहीलाई थप गति दिन बल पुग्नेसमेत बताए।

भवनको संरचना निर्माण भइसकेकाले अब फिनिसिड र छाना हाल्ने काम बाँकी छ। उनले ती कामलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गरे। 

सहरी विकासमन्त्रीमा छिटो र गुणस्तरीय काम गर्ने स्पिरिट रहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्दै थप गति दिन सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरे। 

प्रधानमन्त्रीकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन र काममा सहजीकरण गर्न आफू तयार रहेको उनको भनाइ छ।

सो अवसरमा सहरी विकासमन्त्री गुरुङले सङ्घीय संसद् भवनको निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .