प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन्।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवि जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताएका हुन्।
‘हामीले स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थियौं। सानातिना रोग हुँदा पनि दौडेर विदेश पुग्ने अथवा काठमाडौंमा सुविधा सम्पन्न हस्पिटलहरु मेडिसिटी होस् अथवा नर्भिक, ग्राण्डी होस् वा ह्याम्स,’ ज्ञवालीले भने, ‘त्यहाँ गएर उपचार गर्ने सामथ्र्य राख्नेहरुका लागि धेरै ठूलो कुरा होइन होला। तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य विमा गराएर ५ जनाको परिवारले वर्षभरी एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठूलो क्रान्ति थियो।’
कार्यबहाक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकीर गरे।
‘यो क्रान्तिको सुरुवात स्वास्थ्यमन्त्री हुँदा खगराज अधिकारीजीले गर्नु भएको थियो। पछि त्यो कार्यक्रमलाई हामीले देशैभरी अघि बढाएका छौं। तर आजको त्यो कार्यक्रमलाई समाप्त पार्ने कोशिस हुँदैछ,’ उनले थपे।
वर्तमान सरकार श्रमिकको पक्षमा नभई पूँजीपति वर्गको पक्षमा रहेकाले उसले गरिव जनताको पक्षमा काम गर्न नसक्ने समेत उनले बर्ता।
‘मैले अघि भूमि आयोगको कुरा गरेँ। कसरी त्यसलाई निष्प्रभावी पारियो भनेर एमाले सरकारबाट हटेपछि। यहीनिर फरक पर्छ राज्य कुन वर्गको पक्षमा चलेको छ भनेर। हामी नहुँदा श्रमजीवि जनताको पक्षमा गरिएको थुप्रै कार्यक्रमहरु ओझेलमा पारिँदैछन्,’ उनले भने, ‘खोसिदैछन । निष्प्रभावी पारिँदैछन्। बजेट दिईंदैछैन। हामीले एकै दिन ३९६ वटा पालिकामा आधारभूत हस्पिटल शिलान्यास ग¥यौं। आज ती हष्पिटलहरु अलपत्र पारिएका छन्।’
कार्यबहाक महासचिव ज्ञवालीले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायतका कार्यक्रम ल्याएपनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको बताए।
Shares
प्रतिक्रिया