सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थितिमा अमेरिकासँग भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता स्वीकार गर्न नसकिने दोहाेर्याएका छन्।
बुधबार सिन्धुलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले एमसीसी सम्झौताका कतिपय प्रावधानहरु गलत रहेको बताए। पार्टीभित्र एमसीसीलाई लिएर विवाद चर्किरहेका बेला नेता नेपालले सम्झौता अनुमोदन गर्ने भए त्यसका कतिपय प्रावधानहरु सच्याउनपर्ने समेत स्पष्ट पारे। एमसीसीसँग भएको अनुदान सम्झौताका कतिपय प्राबधान स्वीकार गर्न नसकिने खालका रहेको र तिनले नेपाललाई फाइदा नहुने उनको भनाइ थियो।
उनले नेपालले सबै राष्ट्रहरुको सहयोग लिने बताउँदै गलत मनसायबाट आएका सहयोग भने स्वीकार गर्न नसक्ने प्रस्ट पारे। ‘हामी सबैको सहयोग लिन तयार छौँ’, उनले भने, ‘ तर, सहयोगको नाममा कतिपय गलत मनसायले प्रेरित भएर आउने कुराहरु भने मान्य हुँदैन।’
नेता नेपालले नेकपाका जनप्रतिनिधिलाई सय वर्षको दूरदृष्टि राखेर काम गर्न सुझाब दिए।
प्रतिक्रिया