स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ठूला दलका शीर्ष नेताहरुले संसदलाई आफूखुसी प्रयोग गरिरहेको गुनासो गरेका छन्।
आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले सिंहदरबारको निर्णय ल्याएर यता नसुनाउन ठूला दलका नेताहरुलाई आग्रह गरे।
‘बाहिर निर्णय गरेर संसदमा सुनाउने होइन। पहिले जसरी चलेको थियो त्यसरी अब संसद् चल्न सक्दैन’, उनले भने ‘कसैको पनि विचारलाई दमन गर्न सकिँदैन।’
उनले विचारलाई दमन गरेर फेरि अर्को विद्रोहको वातावरण नबनाउन पनि चेतावनी दिए।
‘विचारलाई दमन गरेर अर्को जनयुद्धको पनि निम्तो नगरौँ। जनयुद्ध गरेका साथीहरुले पनि पुराना कुरा नबिर्सौँ’, उनले माओवादीतिर लक्षित गर्दै भने, ‘सत्ताको चास्नीमा मिलेपछि जयश्रीराम जयगंगा भन्ने हुँदैन।’
उनले कार्यव्यवस्था समितिमा पनि स्वतन्त्र सांसदहरुलाई निषेध गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘संसदभित्रको कुरा यहीँ हुनुपर्छ।सिंहदरबारमा सहमति गरिन्छ अनि यहाँको रेकर्ड हटाइन्छ’, उनले भने, ‘संसद्बाहिर निर्णय गरेर यहाँ सुनाउने होइन।’
Shares
प्रतिक्रिया