नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेकामा खुसी प्रकट गर्दै ‘मुख्य फिल्म’ बाँकी नै रहेको टिप्पणी गरेका छन्।
बिहीबार एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै भाषामा शरणार्थी प्रकरणको फिल्म देखिन बाँकी नै रहेको बताएका हुन्।
‘दोषी छुट्नु हुँदैन, निर्दोष पर्नु हुँदैन’, अध्यक्ष ओलीले भने, ‘मुख्य फिल्म बाँकी नै छ।’
यसअघि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै देखाइएको फिल्म देखाउन बाँकी नै रहेको बताएका थिए।
एमाले अध्यक्ष ओलीले ठूलो मात्रामा ठगी र शोषण अहिले छताछुल्ल भएको उनले बताए।
‘एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो’, उनले भने, ‘सारै ठूलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको हो। यो अगाडि बढेकोमा खुसी छु।’
पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा आज सुरु एमालेको केन्द्रीय कमिटीको बैठक तीन दिनसम्म चल्नेछ।
Shares
प्रतिक्रिया