ad ad

राजनीति


बारा २ मा ७५ प्रतिशत मत गणना, २७ सय मतान्तर हुँदा पनि ढुक्क छैनन् उपेन्द्र

बारा २ मा ७५ प्रतिशत मत गणना, २७ सय मतान्तर हुँदा पनि ढुक्क छैनन् उपेन्द्र

नेपालखबर
बैशाख १२, २०८० मंगलबार २०:२०, काठमाडौँ

बारा-२ मा भएको उपनिर्वाचनमा खसेको ६९ हजार १०७ मध्ये ५२ हजार ४४० मत गणना भइसकेको छ।

अब १६ हजार ६६७ मत गणना गर्न बाँकी छ। अब २५ प्रतिशत मात्रै मत गन्न बाँकी छ। 

अहिलेसम्मको परिणामअनुसार जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादव २ हजार ७६३ मतान्तरहित अगाडि छन्। तर पनि उनी ढुक्क भने छैनन्।

अहिलेसम्मको परिणामअनुसार यादवले २१ हजार ४४६ मत पाएका छन्। जनमतका शिवचन्द्र कुशवाहा १८ हजार ६८३ सहित यादवलाई पछ्याइरहेका छन्।

पछिल्लो १० हजार मतगणना हुँदा कुशवाहाले ३३ सय मतान्तर घटाएपछि प्रतिस्पर्धाले रोचक रूप लिएको छ।

सुरुवाती रुझानमा जसपा अध्यक्ष यादवलाई पछारेका कुशवाहालाई केही समयमै यादवले पछि पारेका थिए।

सोमबारको गणनाको क्रममा १ हजारको मतान्तर रहेको यादव र कुशवाहाबिचको मतान्तर मंगलबार एक समय ५ हजारभन्दा बढीसम्म पुगिसकेको थियो। यद्यपि पछिल्लो मतगणना अनुसार कुशवाहाले मतान्तरलाई निरन्तर घटाउँदै लगिरहेका छन्। 

पचरौता, सुवर्ण, करैयामाई र कोल्हवी ८ को मतगणनामा निकै पछि परेका कुशवाहा महागढीमाई नगरपालिकाको मतगणना सुरू भएसँगै मतान्तरलाई ह्वात्तै झारेका छन्। 

महागढीमाई नगरपालिका कुशवाहाको गृहनगर समेत रहेको छ। गृहनगरमा कुशवाहाले अग्रता बनाउन सके उपेन्द्रलाई अझै जित निकाल्न समस्या हुने कतिपयको आकलन छ। महागढीमाई नगरपालिकामा २१ हजार ६७६ मत खसेको थियो। यस क्षेत्रको मतगणना जारी छ। 

यसका साथै पचरौता नगरपालिकाको मत गन्न समेत बाँकी रहेको छ। यस पालिकामा १३ हजार ५९९ मत खसेको थियो। यो पालिका नेकपा एमालेको पकड क्षेत्र मानिन्छ। 

गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ मा ६८ हजार ८८७ मत खसेको थियो। जसमध्ये २५ प्रतिशत मत मात्रै गन्न अब बाँकी रहेको छ।

यद्यपि कुशवाहाको गृहनगर महागढीमाईको गणना जारी रहेकाले जसपका अध्यक्ष यादव अहिले पनि जितमा ढुक्क छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .