नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएपछि माधवकुमार नेपालले आफूसँग राष्ट्रपति मागेको बताएका छन्।
शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका हुन्।
उनले महिला संगठनको बैठकलाई सम्बोधनका क्रममा आफूले गत पुस १० गते पुष्पकमल दाहाल प्रचण्डलाई बलि राजाले जस्तव प्रधानमन्त्री बनाइदिएको बताएका छन्।
‘म त बलिराजा जस्तो मान्छे, जसले जे माग्छन् दिने, प्रचण्ड आएर प्रधानमन्त्री मागे, मैले दिएँ, माधवजी (माधवकुमार नेपाल) ले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खानु भनेकै थिएँ’ ओलीले अगाडि भने, ‘तर राष्ट्रपति खान त पहिले पार्टीमा आउनुपर्यो नि!, पार्टी मिलाउनुपर्यो, पार्टीमा प्रतिवद्धता चाहियो। सप्रिने भए विचार गर्छु भनेकै थिएँ।’
ओलीले हालैको माधव नेपालको भाषण स्मरण गर्दै आफूले राष्ट्रपति हुनु भन्दा नमानेर कांग्रेसलाई बनाएर नाङ्गो चरित्र देखाए पनि बताए।
‘माधव नेपालले भर्खरै भाषण गरे। प्रचण्डजीले राष्ट्रपति मलाई हुनु भनेर प्रश्ताव गर्नुभएको थियो, मैले मानिनँ कांग्रेसलाई नै बनाउनुपर्छ भनेर मैले प्रश्ताव गरे भनेर उहाँले आफैँले भन्नुभएको छ। वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईँहरुले देख्नै भएको छ। डाको छोडेर रोएका छन् उनी', ओलीले भने, 'वामपन्थी राष्ट्रपति हुनै दिनु हुँदैन। देश खत्तम हुन्छ। माधव नेपालले भनेको सुन्नुभयो होला, एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ। यो नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो। आफ्नो पार्टी फुटाएर, ध्वस्त बनाएर, घरमा आगो लगाएर अनि त्यो खरानी पनि लगेर विरोधी, विपक्षीका पाउमा मैले घर डढाएर यति खरानी हजुरको पाउँमा चढाउन ल्याएको जस्तो घिनलाग्दो कुरो अरु के हुन्छ? उनले त्यही गरे।’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको बताए। दाहाल र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनले बताए।
Shares
प्रतिक्रिया