सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बिहीबार साँझ भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।
स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले सत्ताको पहिलो नेतृत्व गर्ने पुरानो समझदारी कार्यान्वयन गराउनुपर्ने अडान लिएका थिए।
तर काङ्ग्रेसले अहिले प्रचण्डलाई प्रधानमन्त्री दिन नसक्ने बताएपछि कुरा नमिलेको स्रोतले जनायो ।
'कुरा निष्कर्षमा नपुगेपछि भोलि फेरि छलफल गर्ने भएर आज उठेका छन्, सबै कुरा सहमतिमा हुने समझदारी भएको छ, काङ्ग्रेसले पनि आफ्नो अडान राख्यो, जसले गर्दा समस्या भयो,' एक नेताले भने। पछिल्लो समय नयाँ सरकार निर्माणलाई लिएर प्रचण्ड र नेपाल एकै ठाउमा उभिएका छन् ।
'काङ्ग्रेसका सभापति शेरबहादुरजी गठबन्धन जोगाउन तयार हुनुहुन्छ, तर काङ्ग्रेसकै केही नेताहरू माओवादीलाई पहिलो सरकारको नेतृत्व दिन तयार छैनन्, उनीहरुले गर्दा आज सहमति भएन,' ती नेताले नेपालखबरसँग भने, 'भोलि अलि विस्तृत छलफल गरेर निष्कर्षमा पुग्ने भनिएको छ ।'
मंगलबारदेखि बिरामी परेर त्रिवि शिक्षण अस्पतालमा रहेकाअध्यक्ष नेपाल बिहीबार सांसदको शपथ खाएर बालुवाटार गएका थिए।
उता एमालेले पनि माओवादीलाइ साथ लिएर सरकार निर्माण प्रयास गरिरहेको बेला गठबन्धनका तीन शीर्ष नेताबीचको छलफल निष्कर्षमा नपुगेको हो।
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार रहन भनिसकेका छन्। बुधबार शीतल निवास र बिहीबार संसद सचिवालयमा भएको भेटका आफूलाई उक्त प्रस्ताव आएको जानकारी प्रचण्डले पार्टीमा गराएका छन्।
प्रचण्ड र ओलीबीच संसद भवनमा पनि सम्भावित सत्ता समीकरणलाई लिएर छलफल भएको छ। तर बिहीबार दलको नेतामा चयन भएका प्रचण्ड सकेसम्म अहिलेकै गठबन्धनबाट पहिलो प्रधानमन्त्री हुन चाहन्छन्।
उता बुधबार दलको नेता बनेका देउवा आफैँ प्रधानमन्त्रीमा निरन्तरता चाहन्छन्। उनले कांग्रेस कार्यसम्पादन समितिमार्फत संघदेखि प्रदेशसम्म कांग्रेसको सरकार बनाउने निर्णय गराइसकेका छन्।
126
Shares
प्रतिक्रिया