ad ad

राजनीति


सत्ता गठबन्धनले जिते देशबाट गरिबी हट्छ, आर्थिक क्रान्ति सुरु हुन्छ : गृहमन्त्री

सत्ता गठबन्धनले जिते देशबाट गरिबी हट्छ, आर्थिक क्रान्ति सुरु हुन्छ : गृहमन्त्री

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १८:५१, रुपन्देही

गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताएका छन्। 

नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले सत्तारुढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले त्यही अनुसार भोट दिन आग्रह गरे। 

शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत दिए। 

गृहमन्त्री खाँणले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरुको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरुको नेतृत्व सम्भव हुने तर्क पनि गरे। 

'नेपालमा पाँच दलीय गठबन्धनले आर्थिक क्रान्तिको सुरुवात गर्नेछ । नेपाली नागरिकको जीवनमा देखिने परिवर्तन ल्याउन सक्नेछ भन्ने विश्वास गर्नुहोस र मतदातालाई पनि विश्वास दिलाउनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु', उनले भने, 'हिजो हाम्रो संयुक्त आन्दोलनले पञ्चायती व्यवस्था समाप्त गर्छौं भन्दा पत्याउनु भएन। निरंकुश राजतन्त्रको अन्त्य गर्छौं संविधानसभाको चुनाव गरेर भन्दा उहाँहरुले विश्वास गर्नुभएको थिएन। तर, आज दलहरुको सहमतिले निर्दलीय पञ्चायती व्यवस्था हिजो फालिएको थियो। सहमतिको आधारशीलामा संविधानसभाको चुनाव भयो। दलहरुको सहमतिको आधारमा संविधान बनेको छ।'

उनले  दलहरुको सहमतिले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए। 'अहिले पाँच दलीय गठबन्धनबीचको सहमतिले जनताको जीवनलाई बदल्न सकिनेछ भन्ने अठोट हामीले लिनु परेको छ। संकल्प गर्नु परेको छ', उनले भने, 'म विश्वास दिलाउन चाहन्छु–दिदीबहिनीहरुको यो सम्मेलनमा हामीले हाम्रो पाँच दलीय गठबन्धनले नेपालको प्रगति गर्न सकिनेछ, नेपालको गरिबी घटाउन सकिनेछ। नेपालमा रोजगारी उपलब्ध गराउन सकिनेछ।'

गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिबी हट्ने र रोजगारीको अवसर  उपलब्ध गराउन सकिने जिकिर पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .