भैरहवा र आसपासका क्षेत्र समेटिएको रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी माहोल यतिबेला निकै तातेको छ। ५ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन्। खाँणको मुख्य प्रतिस्पर्धीका रूपमा राप्रपाका दीपक बोहोरा मैदानमा छन्। बोहोरालाई एमालेको समर्थन छ।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलगरी कांग्रेसका दुवै भ्रातृ संस्थाको नेतृत्व गरिसकेका खाँण २०४८ सालमा बुटवल र आसपासका क्षेत्र पर्ने तत्कालीन रुपन्देही ३ बाट सांसद भएका थिए। २०५१ सालको चुनावमा सोही क्षेत्रबाट हारे। २०५६ सालमा उनी उम्मेदवार बनेनन्। २०६४ र २०७० को संविधान सभाको चुनावमा बुटवल र भैरहवाको बीचमा पर्ने रुपन्देही ३ बाट सभासद भएका उनी २०७४ को चुनावमा भने समानुपातिक सांसद भएका थिए।
पञ्चायतकालमा समेत मन्त्री बनेका दीपक बोहोरा ०४८ साल यताका चुनाव निरन्तरजसो चुनाव लडिरहेका छन्। तर २०७० को चुनावमा मात्र उनी विजयी भए। भैरहवा क्षेत्र पर्ने तत्कालीन रुपन्देही २ मा बोहोरा दोस्रो संविधान सभाको चुनावमा विजयी बनेर सोही कार्यकालमा मन्त्री समेत बनेका थिए।
२०७४ सालको संसदीय चुनावमा राप्रपाका बोहोरालाई कांग्रेसले समर्थन गरेको थियो। बालकृष्ण खाँण आफू समानुपातिकमा बसेर दीपक बोहोराको प्रचारमा हिँडेका थिए।
तर अघिल्लो चुनावमा सहयात्री बनेका खाँण र बोहोरा अहिले पहिलोपटक आमनेसामने भएका छन्।
दीपक बोहोरा चुनावमा होमिएको भए पनि उनले भाषण गरेका छैनन्। स्पिच थेरापी गरेकाले बोहोरालाई चिकित्सकले भ्वाइस रेस्ट गर्न भनेका छन्। त्यसैले अहिलेसम्मका चुनावी कार्यक्रममा भाषण नगरेका हुन्। बोहोराको चुनावी कार्यक्रममा पञ्चायतकालीन मन्त्री तथा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापा प्रमुख वक्ता बन्ने गरेका छन्।
अस्वस्थताका कारण भाषण नगर्दा उनले केही सहानुभूतिको मत पाउन पनि सक्छन्। अर्कातर्फ अस्वस्थताका बाबजुद चुनाव लडेको भनेर आलोचना पनि हुने गरेको छ।
राप्रपाका रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणाले भाषण नगर्दैमा दीपक बोहोराको चुनावी अभियानमा कुनै असर नपर्ने भन्दै यसअघि गरेको विकासका आधारमा जनताले मत दिने बताए।
‘उहाँको शारिरीक अवस्था बलियो छ। स्पिच थेरापी गरेकाले डाक्टरहरुले केही दिन नबोल्नुस् भनेको हुँदा हामीले भाषण गर्न दिएका छैनौँ,’ उनले भने, ‘दीपकजीले यहाँ जुन किसिमको विकास र योजना अघि बढाउनुभएको छ। त्यो नै जितको आधार हो।’
यही क्षेत्रको मतदाता भएकाले पनि जनताले बोहोरालाई विश्वास गर्ने राणाको भनाइ छ।
गृहमन्त्री बालकृष्ण खाँणको मतदाता नामावली १ नम्बर क्षेत्रमा भए पनि उनले ३ नम्बरलाई आफ्नो चुनावी क्षेत्र बनाएका छन्। पाँच वर्ष अघिदेखि नै खाँणले भैरहवा क्षेत्रबाट चुनाव लड्ने तयारी गर्दै आफ्नो प्रभाव विस्तार गरेका थिए।
नेपाली कांग्रेस रुपन्देही ३ का क्षेत्रीय सभापति सुशील गुरुङले गठबन्धनको साथ अनि बालकृष्ण खाँणको राष्ट्रिय व्यक्तित्वले पनि चुनाव जित्न सहज भएको दाबी गरे।
‘बालकृष्ण दाइ स्थानीय मात्र नभएर राष्ट्रिय स्तरको प्रभावशाली व्यक्ति हो। अहिले सरकारका दोस्रो तहमा हुनुहुन्छ। त्यसैले उहाँ आशाको केन्द्र पनि हो,’ उनले भने ‘स्थानीय चुनावको नतिजाले पनि हामी हर्षित छौं। ३६ वटा वडामा २४ वडा हामीले जितेका छौं। जनमुक्ति सहित ६ दल एक हुँदा हाम्रो जित सहज हुन्छ।’
दीपक बोहोराले ०३६ सालदेखि चुनाव लडे पनि भैरहवाका जनताको लागि केही गर्न नसकेको गुरुङको आरोप छ।
पाँच वर्षअघिको चुनावमा कांग्रेसको साथ पाएका दीपक बोहोरा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए। त्यसबेला माओवादी केन्द्रको समेत साथ पाएका भुसाल ३२ हजार ८६६ मत पाएर विजयी भएका थिए। राप्रपाका बोहोराले २७ हजार ४२२ मत ल्याएका थिए।
तर अहिले ददीय समीकरण फेरिएको छ। राप्रपालाई एमालेले समर्थन गरेको छ भने कांग्रेस र माओवादी केन्द्र एकैठाउँमा छन्।
राप्रपा र एमालेलाई जसपाको पनि साथ छ। कांग्रेस, माओवादीसँग एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासँगै लोसपा पनि छ। पछिल्लो पटक जनमुक्तिले पनि गठबन्धनलाई सघाउँदै आफ्नो उम्मेदवारी निष्क्रिय गराएको छ।
गत स्थानीय चुनावको नतिजाको आधारमा रुपन्देही ३ मा कांग्रेस अगाडि छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३४ हजार १५३ मत ल्याउँदा एमालेका उम्मेदवारले २९ हजार ४८ मत पाएका थिए।
राप्रपाको १३ हजार ३९७, जसपाको ६ हजार १८३, माओवादी केन्द्रको २ हजार ८८१, लोसपाको २ हजार १७४ र एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले ९७७ मत ल्याएका थिए।
यसरी हेर्दा दलगत रुपमा कांग्रेस अगाडि देखिए पनि गठबन्धनको रुपमा रुपन्देही ३ मा एमाले–राप्रपा–जसपा गठबन्धनको मत कांग्रेस–माओवादी–लोसापा गठबन्धनको भन्दा बढी देखिन्छ।
प्रदेश सभा तर्फ पाँच दलीय गठबन्धनबाट रुपन्देही ३ क मा लोसपाका सन्तोषकुमार पाण्डे र ३ ख मा कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन्।
यस्तै प्रतिनिधि सभामा बोहोरा उम्मेदवार बन्दा प्रदेश सभामा ३ क मा जसपाका महेन्द्र यादव र ३ ख मा एमालेका तुल्सी चौधरी उम्मेदवार बनेका छन्।
Shares
प्रतिक्रिया