दोलखामा पूर्वमन्त्रीद्वय आनन्द पोखरेल र पार्वत गुरूङबीच तानातानहुँदा एमालेबाट संघीय सांसदको टिकट बालकृष्ण शिवाकोटीले उछिट्याएका छन्।
अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने गुरुङ र पोखरेल दुवैलाई पाखा लगाउँदै चर्चामै नआएका शिवाकोटीले संघीय संसदको टिकट पाएका हुन्।
आनन्द र पार्वत दुवैले एक अर्कोलाई नस्वीकार्ने भएपछि एमाले अध्यक्ष ओलीले शिवाकोटीलाई टिकट दिएका हुन्।
यसअघि पनि दोलखामा पोखरेल र गुरूङबीच द्वन्द्व थियो। त्यहीकारण त्यहाँ एमालेले क्षति भोग्दै आएको छ। त्यसको पछिल्लो उदाहरण स्थानीय चुनाव बनेको छ।
सुरुमा दोलखाबाट बागमतीको मुख्यमन्त्री बनाउने गरी पोखरेललाई प्रदेशमा पठाउने छलफल भएको थियो। पोखरेल र शिवाकोटीलाई प्रदेशमा पाएर पार्वत संघमा आउने कुरा थियो।
तर पार्वत र आनन्दबीचको व्यक्तिगत इगोको फाइदा शिवाकोटीले लिएका हुन्। अब शिवाकोटीले माओवादी केन्द्रका विशाल खड्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
कांग्रेसको पनि साथ पाएको माओवादीलाई हराउन एमालेलाई दोलखामा सहज छैन। गुरुङ र पोखरेल दुवै असन्तुष्ट रहेको अवस्थामा शिवाकोटीले जित निकाल्न ठूलै मिहिनेत गर्नुपर्नेछ।
एमालेले प्रदेशसभातर्फ नरबहादुर श्रेष्ठ र भरत केसीलाई उम्मदेवार बनाउने भएको छ। प्रदेशसभा 'क' मा श्रेष्ठ र 'ख' मा भरत केसी उम्मेदवार हुनेछन्।
Shares
प्रतिक्रिया