नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपालि आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाट चुनाव लड्ने भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन्।
डा. भट्टराईकै प्रस्तावमा प्रचण्ड अन्तिम समयमा गृहजिल्ला चितवन–३ छाडेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न तयार भएका हुन्। माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सदस्य निर्वाचनमा गोरखा–२ बाट उठाउने निर्णय गरिसकेको छ।
उक्त निर्णयको स्वागत गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रचण्डलाई शानदार विजयका लागि शुभकामना पनि दिएका छन्। बाबुराम भट्टराई भने यसपालि प्रतिनिधि सभा सदस्य निर्वाचन नलड्ने भएका छन्। भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन्।
‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्त्वको छ’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको शानदार विजयको हार्दिक शुभकामना!’
याे पनि : प्रचण्ड गोरखा तर्ने भएपछि रेनु दाहालको प्रतिक्रिया : चितवनबासीका लागि दुर्भाग्य, स्तब्ध
Shares
प्रतिक्रिया