ad ad

राजनीति


प्रचण्डले अध्यक्षता गरेको बैठकमा ओली पहिलो पटक सहभागी

प्रचण्डले अध्यक्षता गरेको बैठकमा ओली पहिलो पटक सहभागी

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ७:४५,

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि बसेको तेस्रो सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन्। नेकपा वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठक बालुवाटारमा बसेको भए पनि बैठकको अध्यक्षता भने प्रचण्डले गरेका थिए। यसअघि बालुवाटारमा बस्ने हरेक बैठकको अध्यक्षता ओलीले गर्दै आएका थिए।

‘सचिवालय बैठकको प्रचण्डजीले अध्यक्षता गर्नुभयो’, वरिष्ठ नेता खनालले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री ओलीजी बैठकमा केहीबेर सहभागी हुनुभयो।’ खनालका अनुसार प्रधानमन्त्री ओली बैठकको सुरुवातको केही समय बसेका थिए। उनले आफ्नो स्वास्थ्य अवस्था र नेपालभारत सीमा विवादका विषयमा केही कुरा राखेको खनालले जनाकारी दिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने बैठकको अध्यक्षता ओली र प्रचण्ड दुबैले गरेको बताए। ‘बैठकको अध्यक्षता दुबै अध्यक्षज्युले गर्नुभयो’, नेपालखबरसँग कुरा गर्दे थापाले भने, ‘सुरुवातमा प्रधानमन्त्री ओलीले अध्यक्षता गर्दै आफ्ना केही कुरा राख्नुभो र निस्कनुभो। पछि प्रचण्डज्युले गर्नुभो।’

यही मंसिर ४ गते बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको थियो। बैठकले सरकार सञचालनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओली र पार्टी सञ्चालनको अधिकार प्रचण्डलाई दिने निर्णय गरेको थियो।

त्यसलगत्तै प्रधानमन्त्री ओली बिरामी भएपछि यसअघि मंसिर १८ र २३ गते बसेको सचिवालय बैठकमा भने उनी सहभागी भएनन्। प्रधानमन्त्री ओली सहभागी नहुने भएपछि यसअघिका दुबै सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमै बसेका थिए। आइतबारको बैठकमा भने ओलीले सहभागी हुने इच्छा देखाएपछि प्रधानमन्त्री निवासमै बैठक राखिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गरेको छ। राजनीतिक प्रतिवेदन पारित गर्ने, सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेगरी विधान संशोधन गर्ने, केन्द्रीय कमिटिको अर्को बैठकको मिति तोक्ने र नेपाल भारत सीमा समस्या लगायतका विषयमा छलफल स्थायी समितिमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .