नेपाली कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै मौका दिएको आरोप लगाएका छन्।
काठमाडौंस्थित एक होटलमा बिहीवार कांग्रेसको डा. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यसो भनेका हुन्।
उनले यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए। पाण्डेले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको बताए।
उनले पार्टीभित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरुले विरोध गर्नुपरेको बताए।
पाण्डेले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर पार्टीभित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए।
उनले सट जित्न र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने बताएका छन्।
‘समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय रुपमा आफूसँग नजिक हुनेलाई, अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिइएको छ। यो गैरजिम्मेवार छ। यो पार्टीको हितमा छैन। देशको हीतमा पनि छैन। यो सूचीबाट धेरै जनप्रिय मान्छेहरु छुट्नुभएको छ। पार्टीमा योगदानको कदर, क्षमताको, लोकप्रियताको कदर हुँदैन भने विद्रोह गर्नु आवश्यक छ', उनले भने, 'लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक व्यवहार भइरहेको छ। निरंकुश व्यवहार भएको छ। सामन्ती व्यवहार भएको छ, त्यसकै विरोधमा हामीले खबरदारी गरिरहेका छौँ। नेकपा माओवादी लगायतका गठबन्धन दलहरुसँग मिलेर आफ्नो पार्टीभित्रका नेताहरुलाई किनारा गरी राजनीतिक हत्या गर्ने जुन प्रपञ्च हुँदैछ। सिट जित्न र सरकारमा जान मात्रै प्राविधिक गठबन्धन गरिएको छ, यसको नतिजा राम्रो आउँदैन।’
Shares
प्रतिक्रिया