ad ad

राजनीति


०७४ मा सेल्फी खिच्ने विश्वप्रकाश र राम कार्की यसपालि कता?

०७४ मा सेल्फी खिच्ने विश्वप्रकाश र राम कार्की यसपालि कता?

नेपालखबर
असोज ५, २०७९ बुधबार १५:५१, काठमाडौँ

आम निर्वाचन– २०७४ मा मुलुकका धेरै निर्वाचन क्षेत्र चर्चित थिए। निर्वाचन परिणाम सार्वजनिक भएपछि झापा– १ का विजयी र पराजित उम्मेदवारद्वयको तस्बिरले पनि विशेष चर्चा पायो।

माओवादी केन्द्रबाट विजयी सुरेन्द्र (राम) कार्कीसँग पराजित भएपछि कांग्रेसका पराजित उम्मेदवार विश्वप्रकाश शर्माले कार्कीलाई भेटेरै बधाई दिए। शर्माले कार्कीलाई बधाईमात्र दिएनन्, कार्कीसँगै सेल्फीसमेत खिचे।

एमाले–माओवादी गठबन्धनबाट विजयी बनेका कार्कीसँग पराजित बनेका शर्माले हँसिलो मुद्रामा सेल्फी खिच्दै गरेको तस्बिर त्योबेला निकै चर्चित भयो। पराजित भए पनि विजयी कार्कीलाई बधाई दिएर राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै कांग्रेस नेता शर्माको प्रसंशासमेत भयो।

पराजयका बाबजुद भेटघाटसँगै बधाई दिएर लोकतान्त्रिक राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै कार्कीले पनि शर्माको प्रसंशा गरेका थिए।

अघिल्लो निर्वाचनमा फरक–फरक गठबन्धनबाट आमने–सामने भएका कार्की र शर्मा दुवै सत्ता गठबन्धनमा  छन्। र, दुवैजना सत्ता गठबन्धनबाट झापा– १ को दाबेदार छन्।

२०७४ को जीत हारपछि पनि दुईबीचजस्तो हार्दिकता थियो, एकै सिटमा दावेदारीका बाबजुद टिकट बाँडफाँटको खिचातानीले पनि यी दुईबीचको हार्दिकता मेटिएको छैन।   

झापा–१ का लागि कांग्रेस र माओवादी केन्द्रले क्रमशः शर्मा र कार्कीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन्। यसमध्ये शर्माको नाम काठमाडौँ– ५ का लागि पनि चर्चामा छ भने ओखलढुङ्गा माओवादी केन्द्रले पनि कार्कीको नाम सिफारिस गरी पठाएको छ।

तर, शर्माले झापा– १ माथिको दाबी केही दिनअघि नै सार्वजनिक गरिसकेका छन्। बिर्तामोडमा १४ भदौमा आयोजित कार्यक्रममा झापा–१ बाहेक अन्यत्रबाट उम्मेदवार नबन्ने घोषणा गरेका थिए। तेस्रो प्रयासस्वरुप आगामी निर्वाचनमा यो क्षेत्रबाट आफू विजयी हुने दावीसमेत उनले गरेका थिए।

शर्मा २०७० मा एमालेका रवीन कोइरालाबाट र २०७० मा माओवादी केन्द्रका कार्कीबाट पराजित भएका थिए। २०७४ मा विजयी कार्की पनि झापा–१ छाड्ने योजनामा छैनन्।

‘ओखलढुङ्गाबाट पनि मेरो नाम सिफारिस त भएको छ, नेता भएपछि देशका जुनसुकै निर्वाचन क्षेत्रबाट पनि लड्न तयार हुनुपर्छ भन्ने मान्छे हुँ म’ कार्कीले भने, ‘तर, यसपटक झापा– १ छाडेर म अन्य क्षेत्रमा जाने योजनामा छैन।’

‘२०६४ मा ताप्लेजुङगबाट प्रतिस्पर्धा गरेँ, २०७४ मा झापा– १ बाट’ उनले थपे, ‘एउटै मानिस कति क्षेत्र चाहार्दै हिँड्ने ? त्यसैले, यसपटक झापा– १ छाडेर अन्य क्षेत्रमा जाने सोचाइमा म छैन।’

कार्की र शर्मा दुवैले झापा– १ नछाड्ने मुड सार्वजनिक गरेका छन्। तर, एकै निर्वाचन क्षेत्रको दाबीका बीच यी दुई नेताबीचको हार्दिकता भने उस्तै छ।

कार्कीको भनाइमा, उनीहरुबीच झापा– १ विषयमा हार्दिकतापूर्वक छलफल हुने गरेको छ।

‘झापा–१ मा को उम्मेदवार बन्ने भन्नेबारेमा हामीबीच छलफल भइरहन्छ’ कार्कीले भने, ‘गठबन्धनले जसलाई उम्मेदवार बनाउने भन्छ, त्यो निर्णय स्वीकार गर्न हामी दुवै तयार नै छौँ।’

शर्माले पनि झापा–१ को टिकट कसले प्राप्त गर्ने भन्ने विषयले आफूहरुबीचको हार्दिकता समाप्त नभएको संकेत गरे। ‘झापा–१ को विषयमा केही टुङ्गो भएको छैन’ उनले भने, ‘तालमेलबारे बैठकले छिट्टै टुङ्गो गर्नेछ।’

दुवैको दावी रहेपनि झापा–१ को टुङ्गो लगाउने जिम्मेवारी गठबन्धनलाई नै दिनुको कारण दुवैले आ–आफ्नो पक्षमा प्रतिकूलता देख्नु हो।

२०७४ को आम निर्वाचनमा वामगठबन्धनको तर्फबाट उम्मेदवार रहेका कार्कीले कांग्रेसका शर्मालाई २ हजार ८ सय ६३ मतले पराजित गरेका थिए। विजयी कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गर्दा पराजित शर्मालाई ३३ हजार ३ सय १० मत प्राप्त भएको थियो।

एमाले–माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट विजय हासिल गरेपनि यो क्षेत्रमा कांग्रेसको तुलनामा माओवादी केन्द्रको स्थिति निकै कमजोर छ। गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मतको आधारमा माओवादी केन्द्र चौथो स्थानमा छ।

सो क्षेत्रमा माओवादीका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार ९ सय ५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवारहरुले २४ हजार ५९ मत प्राप्त हासिल गरेका छन्। एमालेका उम्मेदवारहरुले भने ३१ हजार २ सय ३२ मत प्राप्त गरेका छन्।

अर्थात्, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले प्राप्त गरेको मत भन्दा एमाले उम्मेदवारले प्राप्त गरेको मतान्तर ३ हजार भन्दा बढी छ। सत्ता गठबन्धनका उम्मेदवारले विजय निश्चित गर्न यो क्षेत्रमा ५ हजार ९ सय २२ मत प्राप्त गरेको  राप्रपाको साथ लिनुपर्ने देखिन्छ।

सार्वजनिक रुपमा कार्की र शर्मा दुवैले दावी नछाडेपनि स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रले प्राप्त गरेको कूल मतभन्दा एमाले उम्मेदवारको मत बढी हुनु र राप्रपाको समर्थन कसलाई हुन्छ भन्ने यकिन नभएकाले पनि दुवैले झापा– १ बारे निर्णय गर्ने अधिकार गठबन्धनलाई नै दिएका हुन्। 

खासमा स्थानीय तह निर्वाचनमा आफ्नो भूमिकाका कारण आफूमाथि अन्तर्घात हुनसक्ने भयका कारण कांग्रेस महामन्त्री शर्मा यो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाउने पक्षमा छैनन्।

यो निर्वाचन क्षेत्रमा बुद्धशान्ति गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडा, मेचीनगर नगरपालिकाका १५ वटा वडा, भद्रपुर नगरपालिकाको वडा नं ९ र १० नम्बर वडा पर्छन्।

स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरको टिकट अन्तिम समयमा हेरफेर गरिएको थियो। सोही कारण आफूमाथि कांग्रेसभित्रैबाट अन्तर्घात हुनसक्ने भय शर्मालाई छ।

गत स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनबाट यो नगरमा मेयरको टिकट कृष्णप्रसाद सिटौला निकट केशवराज पाण्डेले प्राप्त गरेका थिए। तर, पाण्डेको टिकट खोसेर इन्द्रबहादुर बुढाथोकीलाई दिइयो।

महामन्त्री शर्मा निकट बुढाथोकी एमालेका गोपालचन्द्र बुढाथोकीबाट भारी मतान्तरले पराजित भए।  

सिटौला निकट पाण्डेले पाएको टिकट खोसेर शर्मा निकट बुढाथोकीलाई दिइनुलाई नै मेचीनगरको मेयरमा कांग्रेसको पराजयको कारण मानिएको छ। जबकि, २०७४ को स्थानीय तह निर्वाचनमा यो नगरमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो।

स्रोतका भनाईमा, स्थानीय तह निर्वाचनका बेला भएको टिकट हेरफेरका कारण आगामी निर्वाचन आफ्ना लागि प्रतिकूल हुनसक्ने भय महामन्त्री शर्मालाई छ। त्यसैले, सार्वजनिक रुपमा झापा– १ माथि दाबी गरेपनि यो क्षेत्रको टिकट नपाउँदा चित्त दुखाउने पक्षमा उनी छैनन्।

उम्मेदवारीका लागि राजनीतिक दलहरुले तल्लो तहबाट सिफारिस सुरु गरेपछि शर्माको चर्चा काठमाडौँ– ५ का लागि पनि गरिएको थियो। यही चर्चाका बीच शर्माले १४ भदौमा झापा– १ बाहेक अन्यत्रबाट प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

जानकारहरुका भनाईमा, यस्तो घोषणाका बाबजुद महामन्त्री शर्मा काठमाडौँ– ५ बाट सत्तागठबन्धनको उम्मेदवार हुने सम्भावना बढ्दै गएको छ। ०७४ को निर्वाचनमा सो क्षेत्रबाट प्रतिस्पर्धा गरेका डा. प्रकाशशरण महत समानुपातिकको बन्दसूचीमा परेकाले काठमाडौँ–५ मा शर्मा उम्मेदवार बन्ने सम्भावना बढेको हो।

यदि महामन्त्री शर्मा यो क्षेत्रमा उम्मेदवार बने भने कांग्रेसका दुई निर्वाचित महामन्त्री राजधानीका सीमा जोडिएका निर्वाचन क्षेत्रका उम्मेदवार हुनेछन्। किनकी, २०७० देखि लगातार विजय हासिल गर्दै आएका अर्का महामन्त्री गगन थापा यसपटकपनि काठमाडौँ– ४ बाट प्रतिस्पर्धा गर्दैछन्। 

डा. महत समानुपातिकतर्फको बन्दसूचीमा परेपछि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई टक्कर दिनसक्ने उम्मेदवार सत्तागठबन्धनसँग काठमाडौँ– ५ मा छैनन्। २०७४ मा पनि कांग्रेसका उम्मेदवार कमजोर हुँदा एमालेका पोखरेलले १० हजार मतान्तरले कांग्रेस उम्मेदवार डा. महतलाई पराजित गरेका थिए।

तर, महामन्त्री शर्मा काठमाडौँ– ५ बाट उम्मेदवार बनेको खण्डमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई डा. महतसँग प्रतिस्पर्धा गरेजस्तो सहज हुनेछैन।

जे होस्, ०७४ को निर्वाचनको जीत–हारपछि पनि कार्की र शर्माले जस्तो हार्दिकता प्रदर्शन गरेका थिए, झापा– १ को टिकटमा प्रतिस्पर्धाका बाबजुद पनि त्यो हार्दिकता कायमै छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .