पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर गरिमामय संस्थाको गरिमा भंग गरेको आरोप लगाएका छन्।
जनकपुरधामको जेठो विद्यालयमध्येको एक सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै राष्ट्रपतिले स्वयं दोस्रो पटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर संसदको मात्र नभई राष्ट्रपति कार्यालय जस्तो सर्वोच्च संस्थाको गरिमा समेत उल्लंघन गरेको आरोप लगाए।
५ दलीय सत्ता गठबन्धन, नागरिक समाज र संचार जगतको संघर्षबाट तयार पारिएको नागरिकता विधेयक सदनबाट निर्माण गरेर पठाइएपनि त्यसको प्रमाणीकरण दोस्रो पटक पनि नगरेर संविधान माथी नै प्रहार भएको पूर्व राष्ट्रपति यादवको भनाई थियो।
राष्ट्रपतिको यो कदमले देश फेरी प्रतिगमन तर्फ जान सक्ने भन्दै पूर्व राष्ट्रपति यादवले सम्पूर्ण नेपाली जनतालाई सचेत गराए। उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबैले पहल गर्नु पर्नेमा जोड दिए।
पूर्व राष्ट्रपति यादवले भने ‘राष्ट्रपतिले विभिन्न मुलुकका अभ्यास हेर्नुपथ्र्यो, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अगाडीको कदम उठाउन सक्नु हुन्थ्यो, यसका अतिरिक्त अन्य विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत रहेको र लोकतन्त्रका लागि यो घटना सामान्य नभई अनिष्टकारी हो ।’ राष्ट्रपतिको यो कदमले नेपाली जनताको संघर्षबाट तयार पारिएको यो संविधानमाथी फेरी कालो बादल लागि सकेको भन्दै चिन्ता व्यक्त गरे।
Shares
प्रतिक्रिया