रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्।
मस्कोस्थित राष्ट्रपतिभवन क्रेमलिनमा आयोजित एक विशेष समारोहबीच राजदूत तुलाधरले ओहदाको प्रमाणपत्र पेश गरे।
ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति पुटिनले नेपालबारेमा समेत संक्षिप्त भनाई राखे। मस्कोस्थित नेपाली दूतावासले विज्ञप्तिमा जनाएअनुसार पुटिनले नेपालको संविधान दिवसका अवसरमा नेपालको राजनीतिक नेतृत्व र नेपाली जनतालाई बधाई दिए। उनले नेपालको सफलता र समृद्दिको पनि कामना गरे।
दूतावासका अनुसार रुस र नेपालबीचको सम्बन्धको चर्चा गर्दै पुटिनले भने ‘रुसको नेपालसँगको सम्बन्ध आपसी समझदारी र मित्रताको वातावरणमा अघि बढ्दै आएको छ। अबका दिनमा पनि पारस्परिक सम्बन्ध अझ विकसित भएर जाने हाम्रो विश्वास छ।’
तुलाधर लगायत २४ देशका राजदूतले पुटिनलाई सामूहिक रुपमा ओहदाको प्रमाणपत्र बुझाएका हुन्। राजदूतहरुलाई एकैसाथ सम्बोधन गर्दै पुटिनले सम्बन्धित देशहरुसँगको रुसको द्विपक्षीय सम्बन्धका अलावा समकालीन विश्व परिस्थतिको पनि चर्चा गरे।
युक्रेन संकटतर्फ इंगित गर्दै पुटिले बिद्यमान विकराल क्षेत्रीय द्वन्द्वहरुको समाधानमा संयुक्त राष्ट्रसंघको भूमिकामा जोड दिए। उनले क्षेत्रीय संगठन साँघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को बढ्दो भूमिको प्रशंशा गरे।
‘एससीओले सन्तुलित राजनीतिक सम्बन्ध र यस क्षेत्रको आर्थिक विकासका लागि अझ बढी महत्वपूर्ण भूमिका खेलिरहेको अवस्था छ’ पुटिनले भने।
Shares
प्रतिक्रिया