निर्वाचन आयोगले गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन खर्चको विवरण पेस नगर्ने र समयावधिपछि निर्वाचन खर्च पेस गर्ने उम्म्मेदवारलाई जरिवाना गर्ने सूचना निकालेको छ।
निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलार्य तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो? भन्दै आयोगले सूचनामार्फत प्रश्न गरेको छ।
साथै, तोकिएको समयावधिभित्र आफूलाई लागेको जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारलाई ६ वर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय भएको जानकारी पनि सूचनमा गरिएको छ।
‘तोकिएको समयावधिभित्र आफूलाई लागेको जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारलाई निर्णय भएको मितिबाट लागू हुने गरी ६ (छ) वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने आयोगबाट मिति २०७९/५/३१ मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ।
गत १ भदौमा सात दिनभित्र स्पष्टिकरण पेस गर्न भनिएको र त्यो स्पष्टिकरण चित्तबुझ्दो नभएको आयोगले जनाएको छ।
‘सफाइ सहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेस गर्न आदेश दिने भनी आयोगबाट मिति २०७९/४/३१ मा निर्णय भई मिति २०७९/५/१ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण पेस गर्ने उम्मेदवारहरूको स्पष्टीकरणको व्यहोरा विश्वासयोग्य, चित्तबुझ्दो र सन्तोषजनक नदेखिएकोले जरिवाना बापतको रकम ६ (छ) महिनाभित्र निर्वाचन आयोगको कार्यालय कोड नं. २१२००३५०१, राजस्व शीर्षक नं. १४३१२ मा दाखिला गरी दाखिला भएको भौचर सहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न निर्देशन दिने र निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम तोकिएको समयावधिभित्र आफूलाई लागेको जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारलाई निर्णय भएको मितिबाट लागू हुने गरी ६ (छ) वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने आयोगबाट मिति २०७९/५/३१ मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ आयोगको सूचनामा भनिएको छ।
आयोगले निकालेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, भरतपुर महानगरकी मेयर रेनु दाहाल लगायतको पनि नाम छ।
निर्वाचन खर्चको विवरण बुझाउनेमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य तथा पोखरा उपमहानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले मात्रै छन्।
कुन पदको उम्मेदवारलाई कति जरिवाना?
-महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही रु. ७,५०,०००।-(सात लाख पचास हजार) रुपैयाँ
-महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु. ३,००,०००।- (तीन लाख) रुपैयाँ
-उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही रु.५,५०,०००।- (पाँच लाख पचास हजार) रुपैयाँ
-उपमहानगरपालिका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु.२,५०,०००।-(दुई लाख पचास हजार) रुपैयाँ
-नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही रु.४,५०,०००।- (चार लाख पचास हजार) रुपैयाँ
-नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु.२,००,०००/- (दुई लाख) रुपैयाँ
-गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही रु.३,५०,०००।- (तीन लाख पचास हजार) रुपैयाँ
-गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु.१,५०,०००/- (एक लाख पचास हजार) रुपैयाँ
Shares
प्रतिक्रिया