नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अहिले आफ्नो क्षेत्रका मतदातासँग भेटघाट तीव्र पारेका छन्। मंसिर ४ मा हुन गइरहेको संसदीय निर्वाचनलाई लक्षित गरेर उनले काठमाडौं–१ का मतदातासँगको भेटघाटलाई तीव्रता दिएका हुन्।
मतदातासँगको भेटघाटका क्रममा नेता सिंहले शनिबार विद्यार्थीहरुसँग अन्तक्रिया गरेका छन्। छलफलमा सहभागी विद्यार्थीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षाहरु नेता सिंह सामु राखेका छन्।
लोकसेवा आयोगको परीक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, शिक्षाका लागि विदेश जाने ट्रेन्ड रोक्नुपर्ने, नेपालमा रहेको करको दर घटाउनुपर्ने, निजी सवारी साधन खरिदमा धेरै पैसा विदेशिँदा अर्थतन्त्र कमजोर बनेकाले त्यसलाई निरुत्साहित गर्दै सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्ने र ऐन–कानुन व्यवहारिक बनाइनुपर्नेमा उनीहरुको जोड थियो।
अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले शिक्षा प्रयोगात्मक बनाउनुपर्ने, कलेजले लिइरहेको मनपरी शुल्क नियन्त्रण गर्नुपर्नेमा पनि जोड दिए। केही विद्यार्थीहरुले बालबालिकालाई कुलतबाट जोगाउन धुम्रपान र
मद्यपान बालबालिकालाई बेच्न नमिल्ने नियम ल्याउनुपर्नेतर्फ पहल गर्न पनि नेता सिंहसँग आग्रह गरे। उनीहरुले आफ्नो क्षेत्रका सांसद सिंहलाई आफूसँगको अपेक्षाबारे पनि प्रश्न गरेका थिए।
जवाफमा नेता सिंहले विदाको दिनमा समय दिएर कार्यक्रममा सहभागी भएको भन्दै विद्यार्थीलाई धन्यवाद दिँदै आजको छलफल सुरुवात मात्रै भएको बताए। उनले राजनीतिप्रति विस्तारै युवाहरुको चासो बढ्नु सकारात्मक रहेको बताए।
‘युवालाई राजनीतिमा वास्ता छैन भनिन्थ्यो। तर, हालसालैका घटनाक्रमले युवाहरुलाई पनि चासो छ भन्ने देखाएको छ,’ सिंहले भने, ‘यहाँहरुले दिनुभएको सुझाव र राख्नुभएको मुद्दा अत्यन्त सान्दर्भिक छ। अब संसदमा तपाईहरुले दिएको सुझाव र यही पुस्ताको सुझाव लिएर जान्छु। तपाईंहरुले उठाउनुभएका विषय कार्यान्वयन गराउने प्रतिवद्धता गर्दछु।’
Shares
प्रतिक्रिया